कास्की, जेष्ठ २७ । गण्डकी प्रदेशका नवलपरासी, म्याग्दी र बाग्लुङमा गरी मंगलबार बिहान थप २४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ति जारी गरी नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा १२, बाग्लुङमा ११ र म्याग्दीमा एक जनामा नयाँ सङ्क्रमण पुष्टि भएको जनाएको छ।
पोखरा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको परीक्षणअनुसार नवलपरासीको बौदीकाली गाउँपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टिनमा रहेका वर्ष ४०, १९, ३०, १८, २२, २१, १९, २२, ४०, २०, १८ र ३० का १२ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा गठन गरिएको कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापन उच्चस्तरीय समितिका संयोजक डा.विनोदविन्दु शर्माले बताए।
त्यसैगरी बाग्लुङ जिल्लाको निसीखोला गाउँपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टिनमा रहेका वर्ष २१, २६ र २७ का तीन पुरुष र बरेङ गाउँपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टिनमा रहेका वर्ष २४, २२, १८, २४, १८, ४९, २३ र २७ का आठ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सरकारी अस्पतालको आइसोलेसनकक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
गण्डकीमा सङ्क्रमित १ सय ४४ पुगे
गण्डकीका मनाङ र मुस्ताङमा बाहेक नौ जिल्लामा कोभिड–१९ सङ्क्रमित फेला परेका छन्।
हालसम्म गण्डकीमा सङ्क्रमितको सङ्ख्या १ सय ४४ पुगेको छ। मनाङ र मुस्ताङमा भने हालसम्म कोरोनाका बिरामी भेटिएका छैनन्।
स्याङ्जामा ३८, बागलुङमा ४०, नवलपरासी बर्दघाट सुस्तापूर्वमा ३४, गोरखामा ११, पर्वतमा नौ, कास्कीमा पाँच, तनहुँ र म्याग्दीमा तीन–तीन तथा लमजुङमा एक जनालाई सङ्क्रमण पुष्टि भएको छ।
प्रदेशमा गत चैत १५ गते पहिलो कोभिड–१९ पुष्टि भएको थियो। बाग्लुङका एक १९ वर्षीया किशोरीमा पहिलोपटक सङ्क्रमण फेला परेको थियो।
सङ्क्रमितमध्ये एक जनाको निधन भएको छ भने तीन जना उपचार गराएर संक्रमणमुक्त भएपछि घर फर्किएका छन्। बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
बाग्लुङका दुई र लमजुङका एक संक्रमणमुक्त भएका हुन्। कोभिड सङ्क्रमित स्याङ्जाका एक ६० वर्षीय पुरुषको जेठ २५ गते राति पोखरास्थित पश्चिमाञ्जल क्षेत्रीय अस्पतालको आइसोलेसनकक्षमा उपचारको क्रममा निधन भएको थियो।
मृतकको सोमबार साँझ पोखरामा शव व्यवस्थापन गरिएको थियो। रासस


























