भदौ १५ । इङ्ग्ल्यान्डले पाकिस्तानविरुद्धको दोस्रो ट्वान्टी–ट्वान्टी क्रिकेटमा पाँच विकेटले जित हात पारेको छ।
म्यानचेस्टरमा गएराति भएको खेलमा इङ्ग्ल्यान्डले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको हो।
पाकिस्तानले दिएको १ सय ९६ रनको लक्ष्य इङ्ग्ल्यान्डले १९ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो।
इङ्ग्ल्यान्डको जितमा कप्तान इयान मोर्गनले ६६ रनको अर्धशतकीय इनिङ्ग खेले। यस्तै डाविड मालनले अविजित रहँदै ५४ रनको अर्धशतकीय इनिङ्ग खेले।
त्यसबाहेक इङ्ग्ल्यान्डका जोनी बेयर्स्टोले ४४ तथा टम बानटनले २० रन बनाए। पाकिस्तानका शादब खानले ३ तथा हरिस राउफले २ विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो।
दोस्रो ट्वान्टी–ट्वान्टीमा जित निकालेसँगै तीन खेलको सिरिजमा इङ्ग्ल्यान्डले १–० को अग्रता बनाएको छ। दुई टिमबीचको अन्तिम तथा तेस्रो खेल सेप्टेम्बर १ (भोलि) हुनेछ।
पहिलो खेल भने वर्षाको कारण वासआउट भएको थियो। एजेन्सी


























