चितवन भदाै १४ । आइतबार राति थप १८ जनामा काेराेना संक्रमण पुष्टि भएपछि चितवनमा संक्रमितकाे संख्या सातसय नजिक पुगेकाे छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार शनिबार साँझसम्ममा ५९८ जनामा संक्रमण पुष्टि भएकाेमा शनिबार राति आएकाे रिपाेर्टसहित पछिल्लाे चाैबीस घण्टामा मात्रै चितवनमा ६४ जनामा संक्रमण पुष्टि भएकाे छ। शनिबार पनि ७३ जनामा संक्रमण पुष्टि भएकाे थियाे।
आइतबार भने राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला टेकुमा गरिएकाे परीक्षणमा ११ जना, धुलिखेल प्रयाेगशालामा गरिएकाे परीक्षणमा ३५ र भरतपुरकाे प्रयाेगशालामा गरिएकाे परीक्षणबाट १८ जनामा संक्रमण पुष्टि भएकाे थियाे। पछिल्लाे समय चितवनमा काेराेना भाइरस संक्रमितकाे संख्या दिनप्रतिदिन तीव्ररुपमा बढ्दै गएकाे छ। प्रशासनले सबै स्थानीय तहमा लागू हुने गरी दाेस्राेपटक निषेधाज्ञा जारी गरे पनि संक्रमण कम हुनुकाे साटाे बढ्दै जानुले चितवनवासीमाझ थप त्रास सिर्जना गरेकाे छ।


























