भदौ १३ । चेन्नई सुपर किंग्सलाई अर्को महिना देखि संयुक्त अरव इमिरेट्स (यूएई) मा सुरु हुने इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा ठूलो झट्का लागेको छ।
टोलीका प्रमुख ब्याट्सम्यान तथा आइपिएल इतिहासकै एक सर्वाधिक सफल ब्याट्सम्यान सुरेश रैनाले यस सिजन पूरै गुमाउने भएका छन्। अगष्ट २१ यूएई गएका रैनाले ब्यक्तिगत कारण आफ्नो नाम फिर्ता लिदै शनिवार भारत फर्किएका छन्। शुक्रबार चेन्नईका एक बलर र टोलीका अन्य १० सदस्यमा कोरोना संक्रमण देखिएको थियो।
‘सुरेशले व्यक्तिगत कारणले आइपिएल गुमाउनेछन् र उनी भारत फर्किएका छन्। चेन्नईले सुरेशलाई पूर्णरुपमा साथ र सहयोग दिन्छ’, चेन्नईका सिइओ काशी विश्वनाथनले भने। सन् २००८ देखि रैनाले नियमित चेन्नईबाट खेलेका छन्। उनले आइपिएलमा चेन्नईबाट हालसम्म एकखेल मात्र गुमाएका छन्। सन् २०१८ मा खुट्टामा चोटका कारण किंग्स इलेभेन पञ्जावविरुद्ध गुमाएका थिए।
रैना आइपिएलमा सर्वाधिक रन बनाउने दोस्रो ब्याट्सम्यान हुन्। उनले १९३ खेलमा १ शतक र ३८ अर्धशतक सहित ५ हजार ३ सय ६८ रन बनाएका छन्। आइपिएलमा सर्वाधिक रन बनाउने भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली छन्। कोहलीले १ सय ७७ खेलमा ५ शतक र ३६ अर्ध शतक सहित ५ हजार ४ सय १२ रन बनाएका छन्।
रैनाले अगष्ट १५ मा भारतीय क्रिकेट टोलीका पूर्व तथा चेन्नईका कप्तान महेन्द्रसिंह धोनीसँगै अन्तर्राष्ट्रिय क्रिकेटबाटसँगै सन्न्यास लिएका थिए। चेन्नईलाई सन् २०१०, २०११ र २०१८ मा उपाधि जिताउन रैनाले महत्वपूर्ण प्रर्दशन गरेका थिए।
चेन्नई खेलेका कुल १० संस्करण मध्य ८ पटक फाइनलमा पुगेको छ। तीन पटक उपाधि जितेको छ। धोनीको कप्तानमा रहेको चेन्नई हालसम्म लिग चरणबाटै बाहिरिएको छैन। आइपिएलमा लिग चरणबाटै नबाहिरिने चेन्नई एक मात्र टोली हो।


























