काठमाडौं, भदौ १३ । संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि सिफारिस भएका राजदूतहरुबारे उजुरी दिन आव्हान गरेको छ। सिफारिस भएका तीन जनाबारे कुनै उजुरी भए उपलब्ध गराउन समितिले आह्वान गरेको हो। सुनुवाइ समितिले शुक्रवार सूचना प्रकाशित गरी भदौ २२ गतेभित्र समितिको कार्यालयमा पुग्ने गरी उजुरी गर्न भनिएको छ।
सरकारले गेहेन्द्र राजभण्डारीलाई बेल्जियम र युरोपियन युनियन, तापस अधिकारीलाई पाकिस्तान तथा रामकाजी खड्कालाई जर्मनीका लागि राजदूतमा सिफारिस गरेको थियो।
सिफारिस गरिएकाहरूलाई राजदूतमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आाधार एवं सबुद प्रमाणसहित उजुरी दिन सकिने समितिको सूचनामा उल्लेख छ।
उजुरीकर्ताको परिचय गोप्य राखिने समितिले जनाएको छ। ७७ जिल्लाकै प्रशासन कार्यालयहरूलाई सार्वजनिक स्थल एवम् सरकारी कार्यालयहरूमार्फत सूचना प्रकाशित गर्न समितिले भनेको छ।
सम्बन्धित जिल्लाका प्रशासन कार्यालयमार्फत् वा सोझै समितिको कार्यालयमा पुगेर उजुरी दिन सकिने पनि समितिले जानकारी दिएको छ।
सरकारबाट भएको सिफारिस समितिको सम्पूर्ण सदस्य संख्याको दुई तिहाई बहुमतबाट अस्वीकृत नभएमा अनुमोदन भएको मानिने छ। सुनुवाइका क्रममा हालसम्म कोही पनि अस्वीकृत भएका छैनन्।


























