भदौ ११ । विगत केही हप्तादेखि पूर्वी भूमध्यसागरमा तनाव बढिरहेको छ। ऊर्जा स्रोतमाथिको नियन्त्रणमा प्रतिस्पर्धाबाट यसको आरम्भ भएको हो।
टर्कीको जलसेनाले ग्यास खोजीको अभियान चलाएपछि विवाद उठेको हो। ग्रीसले यसमा आपत्ति उठाएको छ र फ्रान्स अहिले ग्रीसको पक्षमा छ।
यसैबीच यूएईले ग्रीसलाई साथ दिन एफ–१६ विमान क्रिट एयरबेस पठाउने घोषणा गरेको छ।
टर्कीका राष्ट्रपति रेजेप तैयिप एर्दोआन टर्की एक कदम पनि पछि नहट्ने बताइरहेका छन् ।
ग्यासको खोजी तात्कालिक कारण भए पनि समस्याका जराहरू निकै गहिरा छन्। ग्रीस र टर्कीबीच लामो समयदेखि चलिरहेको संघर्षको एक नयाँ अध्याय हो।
यो क्षेत्रीय भूरणनीतिक प्रतिस्पर्धा हो। अन्य देशसामु एक्लो टर्की जोधाहा बनेको छ। यो क्षेत्र लिबियादेखि पूर्वी भूमध्यसागरपारि टाढासम्म फैलिएको छ।
टर्कीविरुद्ध एकपछि अर्को देश पंक्तिबद्ध हुँदै जाँदा टर्कीलाई आफूलाई एक्ल्याइएको अनुभव गर्न थालेको छ। त्यसैले पनि टर्की बढी आक्रामक भएको छ।
अमेरिकाले आफ्नो शक्तिप्रदर्शन घटाउँदै लगेको अनि ट्रम्प प्रशासनले यस क्षेत्रमा रुचि घटाएकाले क्षेत्रीय तनाव आएको हो।
टर्कीले जमीनबाट हावामा मार हान्ने रुसी क्षेप्यास्त्र किन्दा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले टर्कीलाई एफ–३५ लडाकू विमान कार्यक्रमबाट हटाएका थिए।
टर्की नेटो सदस्य भए पनि सिरिया र अन्य क्षेत्रमा अमेरिकाले अपनाएको नीतिविरुद्ध उभिन्छ। तैपनि अमेरिकाले टर्कीमाथि त्यस्तो दबाब दिने गरेको छैन।
अमेरिकाले कुनै ठोस कदम नउठाउँदा जर्मनीलाई ग्रीस र टर्कीबीच मध्यस्थताका लागि अघि सर्नुपरेको छ।
तनाव ग्यासका कारण बढेको हो। त्यहाँ महत्त्वपूर्ण ग्यास क्षेत्र पाइएका छन् वा सक्रिय रूपमा खोजी जारी छ।
ग्यासका कारण यस क्षेत्रका देशहरूबीच प्रतिस्पर्धा छ। अनि जलसीमा निर्धारणका विषयमा पनि विवाद छ। कसको क्षेत्र कति हो भन्नेमा मतभेद छ।
अधिकारलाई मान्यता दिने विषयमा भएका सम्झौताले तनाव झनै बढाएका छन्।
पोहोर साल टर्कीले लिबियाको नेसनल अकोर्ड सरकारसँग समुद्री सम्झौतामा हस्ताक्षर गरेको थियो। ग्रीसले आफ्नो मान्ने गरेको क्षेत्रमा ग्यास खोजी अभियान गर्न टर्कीले सम्झौता गरेको थियो।
यसै महिनाको आरम्भमा ग्रीस र इजिप्टले समुद्री सीमा सम्झौतामा हस्ताक्षर गरे।
टर्की यसबाट क्रुद्ध भयो र उसले आफ्नो जलसेनालाई नयाँ खोजी अभियानमा तैनाथ गरिदियो।
ऊर्जाको खोजले यस क्षेत्रमा तनाव बढाएको हो। लामो समयसम्म यो क्षेत्र वायु र जलसेना हतियारको प्रतिस्पर्धाको थलो पनि बन्ने सम्भावना छ।
टर्कीले आक्रामक परराष्ट्रनीति अपनाएर पुरानो ओट्टोमन साम्राज्यको झलक दिन खोजेको छ। राष्ट्रपति एर्दोआनले भौगोलिक क्षेत्रको विस्तार गरेका छन्।
उनको एकेपी दलले टर्कीको अर्थतन्त्रको उपयोग क्षेत्रीय वर्चस्व बढाउनका लागि गरे।
तर केही समययता टर्कीको अर्थतन्त्र सुस्त भएको छ। तैपनि एर्दोआनले पछि हट्ने संकेत दिएका छैनन्।
टर्की सरकारको ब्लू होमल्यान्ड अर्थात् सामुद्रिक क्षेत्रमाथिको आधिपत्य सिद्धान्तले टर्कीलाई जलमार्गको प्रमुख भूमिका दिलाउन खोजेको छ।
त्यसैले भूमध्यसागर अहिले तनावको केन्द्र बनेको छ। यस तनावलाई मत्थर पार्ने सामर्थ्य कसको छ भन्ने स्पष्ट छैन। एजेन्सी


























