भदौ ११ । राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलाबाजले क्यारेबिन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा तेस्रो हार ब्यहोरेको छ।
ट्रिनिडाड एण्ड टोबेगामा बुधबार राति जमैका आफ्नो पाँचौ खेलमा बर्बाडोस ट्राइडेन्ससंग ३६ रनले पराजित बनेको हो।
सुरुवाती ब्याटिङ गरेको बर्बाडोसले ७ विकेटको क्षतीमा १ सय ४८ रन बनाएको थियो।
केयल मेयर्सले बिस्फोटक ब्याटिङ गर्दै ८५ रन जोडेपछि बर्बाडोसले मध्यम योगफल तयार पारेको थियो। मिसेल सेन्टनरले २० रन बनाएपनि अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन।
जमैकाका मुजिद उर रेहमानले ३ तथा सन्दीपले २ विकेट लिए। फिडेल इडवार्ड र कार्लोस ब्रेथवेटले एक(एक विकेट हात पारे।
सन्दीपले ४ ओभर बलिङ गर्दै १६ रन दिएर २ विकेट हात पारेका थिए।
सन्दीपले सीपीएलको उत्कृष्ट प्रर्दशन जारी छ। उनले हरेक खेलमा किफायती बलिङ गर्दै विकेट हात पारिरहेका छन्।
१ सय ४९ रनको लक्ष्य पछ्याएको जमैकाले ९ विकेट गुमाएर १ सय १२ रन मात्र बनाउन सक्यो। नक्रमा बोनरले बनाएको ३१ रन सर्वाधिक स्कोर रह्यो। सन्दीप ४ रनमा नटआउट रहे।
सन्दीपको टिम जमैकाले ५ खेलबाट २ खेलमा जित निकाल्दै ४ अंक जोडेको छ। उसले २ खेलमा जित र ३ खेलमा हार ब्यहोरेको छ।
जमैका तालिकाको पाँचौ स्थानमा उक्लिएको छ। जित सहित बार्बाडोस ४ अंक सहित तेस्रो स्थानमा उक्लिएको छ। एजेन्सी


























