रुकुम पश्चिम, भदौ १० । प्रहरीले रुकुमपश्चिममा दुई लागुऔषध कारोवारीलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वबाट खटिएको टोलीले जिल्लाको मुसीकोट नगरपालिका–४ ठाराढुङ्गाबाट प्रहरीले गोली प्रहार गरी दुई जनालाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी निरीक्षक दिनेश गुरुङका अनुसार, पक्राउ गर्न खोज्दा कारोवारी भाग्न खोजेपछि गोली प्रहार गर्नुपरेको थियो।
गोली प्रहारबाट एक घाइते भएका छन् भने उनीसँगै अर्का एक जना पक्राउ परेका छन्। एक जना भने भागेको प्रहरीले जनाएको छ।
गोली लागेर घाइते हुनेमा रुकुमपश्चिमको मुसीकोट नगरपालिका–११ भलाक्चाका २५ वर्षीय निर्मल पुन छन्। उनको तिघ्रामा गोली लागेको र थप उपचारका लागि नेपालगञ्ज सिफारिस गरिएको छ।
उनीसँगै रहेका मुसीकोट–११ कै ३५ वर्षीय लक्ष्मी पुन पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रमुख डिएसपी ठगबहादुर केसीका अनुसार अर्का जयप्रकाश घर्ती भने फरार छन्।


























