काठमाडाैं । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितलाई अस्पताल भर्ना गर्ने प्रक्रिया परिवर्तन गरेको छ। मन्त्रालयले लक्षण नभएका संक्रमितलाई अब भर्ना नगर्न देशभरका अस्पताललाई निर्देशन दिएको छ। लक्षण नभएका संक्रमितले अस्पतालका शय्या भरिन थालेपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले लक्षण नभएका अस्पतालमा र लक्षण भएका संक्रमित घरमा बस्नुपरेपछि अस्पताल भर्ना प्रक्रियामा परिवर्तन गर्नुपरेको बताएका हुन्। अब सामान्य अवस्थाका संक्रमितलाई भर्ना नलिन चिकित्सक तथा अस्पताल प्रमुखलाई निर्देशन दिइएको उनले बताए।
काठमाडौंलगायत तराईका जिल्लामा संक्रमित बढ्दै जाँदा अस्पतालमा शय्या अभाव हुन थालेको छ। यो समस्याको समाधान गर्न मन्त्रालयले लक्षण नभएका संक्रमितलाई आइसोलेसन सेन्टरमा राख्ने निर्णय गरेकाे हो। पछिल्लो समय लक्षणसहितका संक्रमित बढ्न थालेका छन्। कुल संक्रमितमध्ये ६ प्रतिशतमा लक्षण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। तर, उपत्यकामा भने २० प्रतिशत संक्रमितमा लक्षण देखिएको समाचार नयाँपत्रिका दैनिकले छापेकाे छ।
निषेधाज्ञाले काम गरे–नगरेको यकिन हुन अझै एक हप्ता लाग्ने
कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको निषेधाज्ञाको प्रभाव अझै एक हप्तापछि मात्रै देखापर्ने चिकित्सकले बताएका छन्। दुईदेखि १४ दिनको संक्रमण अवधि भएकाले ६ दिनलाई हेरेर निषेधाज्ञाले काम गरे–नगरेको यकिन गर्न नसकिने उनीहरूको भनाइ छ। सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार दुईदेखि १४ दिनभित्र यसको संक्रमण देखिने भनिए तापनि धेरैलाई पाँच दिनभित्र नै लक्षण देखिएको छ। ‘त्यसपछि बिस्तारै दैनिक संक्रमण कम हुँदै जान्छ,’ डा. पुन भन्छन्, ‘तर, कुनै व्यक्ति घर, परिवार, आफन्त र राज्यलाई नै झुक्याएर बाहिर हिँडडुल गरेको भए त्यो सोही दिनबाट १४ दिन गन्न सुरु हुन्छ। यस्तो अवस्थामा भने निषेधाज्ञा जारी गरेर पनि संक्रमण घट्दैन।’
कस्तो छ अहिलेको अवस्था ?
कोरोना भाइरसको संक्रमण समुदायस्तरमा कुन अवस्थामा पुगेको छ भन्ने पत्ता लगाउन कोसिस भइरहेको छ। अहिले समुदायमा कोरोना कुन अवस्था छ, भन्ने बलियो आधार निर्माण नभएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. विवेक लाल बताउँछन्। अब देशको अवस्था के हुन्छ भन्नलाई अहिलेको अवस्था कस्तो छ भन्ने कुरा प्रमुख हुने उनले बताए। त्यसका लागि विभिन्न क्षेत्र तोकेर सेरोलोजिकल (एन्टिबडी) परीक्षण गर्नुपर्ने उनको भनाइ छ।


























