चितवन । मंगलबार साँझतिर सामाजिक सञ्जाल फेसबुक र टुइटरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बधाई दिनेको ओइरो नै लाग्यो। ती स्टाटसहरूमा घिसिङको कार्यकाल थप भएको भनेर खुबै हल्ला भयो। कतिपय अनलाइन मिडियाहरूले त्यही स्टाटसको आधारमा मन्त्रिपरिषद्को बैठकले कुलमान घिसिङको कार्यकाल चारवर्ष थपेको भन्दै समाचार प्रकाशन गर्नसमेत भ्याए। तर, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले कुलमान घिसिङलाई नै कार्यकारी निर्देशकमा पुनः नियुक्ति दिने या नदिनेबारे मन्त्रिपरिषदमा प्रस्ताव नै पेस भएको छैन भन्ने धारणा सार्वजनिक भएपछि भने धेरैले स्टाटस हटाए भने अनलाइन मिडियाले पनि समाचार हटाउन थाले।
कुलमानको विषय मन्त्रिपरिषद्मा कुरा नै नचले पनि यही भदौ २९ गते कार्यकाल सकिँदै गरेका कुलमानको कार्यकाल थप गरेको विषयमा स्टाटस र समाचार नै भाइरल भएपछि मन्त्रीहरु नै छक्क परे। तर, आमनागरिकले भने कुलमानलाई नै निरन्तरता दिनुपर्छ भनेर चर्को आवाज उठाइरहेका छन्। सामाजिक सञ्जालमा कुलमान घिसिङको तस्बिरलाई प्रोफाइल बनाएरै राखेपछि उनको निरन्तरता जनताले खोजेका छन् भन्ने प्रस्ट हुन्छ।
कलाकारहरू हरिवंश आचार्य, मनोज गजुरेल, करिश्मा मानन्धर, रोइला किङको उपमा पाएका लोक तथा दोहोरी गायक शिरिष देवकोटा, लेखक एवम् प्राध्यापक भूपिन खड्का, व्यवसायी मानदेव अधिकारीलगायतका व्यक्तिहरू नै सामाजिक सञ्जालबाट खुलेरै कुलमानको कार्यकाल थप्न माग गरिरहेका छन्।
कसले के भनेका छन्? हेर्नुहोस् उनीहरूको स्टाटस जस्ताको त्यस्तैः
हरिवंश आचार्य : कलाकार
यो देशमा अन्धकार ल्याउनेहरु धेरै छन् तिनीहरुलाई खोजी खोजी हटाउनुपर्छ। उज्यालो ल्याउनेलाई सम्मान गरौँ। उहॅाको ऊर्जाले देशको ऊर्जा बढ्छ।

मनाेज गजुरेल : कलाकार
‘बहुमत जनता’ कुलमानलाई दोहोर्याउनुपर्छ भन्दैछन् भने ‘बहुमतको सरकार’लाई यसो गर्न कुन मतले छेक्छ!? ‘ओके छ त’ भनेर समयको माग र जनताको चाहानाको कदर गरे भैगो। श्री कुलमानलाई नै सदर गरे भैगो
#Right Place #Right Person #Right time #Right Decision #KULMAN_GHISING

करिश्मा मानन्धर : अभिनेत्री
थोरै अफ्नो सोचेर धेरै अरुको लागि गर्ने कमै मान्छे हुन्छन्, कुलमन घिसिङ फेरि चाहिन्छ।

शिरिष देवकाेटा : लाेक तथा दाेहाेरी गायक
जनताको मतले पराजित माधव नेपाल ज्यूलाई पहिलो संविधान सभामा अति आवश्यक ठानियो र घुमाउरो बाटो प्रयोग गरी सांसद बनाइयो!!! नारायणकाजी गोरखाबाट जनताको मतले पराजित हुनु भयो र उहाँलाई पनि आवश्यक ठानेर राष्ट्रिय सभा लगियो!!! पछिल्लो ५ वर्षमा कुलमान घिसिङ अनि उहाँको टिमको प्रयासमा विद्युत क्षेत्रले प्राप्त गरेको असाधारण सफलताकै कारण उहाँलाई अधिकांश जनताको समर्थन प्राप्त छ! कर्मचारी क्षेत्रमा यति जनप्रिय व्यक्ति न हिजो कोही थियो न आज!! यो सर्वस्वीकार्य सत्यलाई भुलेर पुन: उहाँलाई नेतृत्व दिन इन्कार गरियो भने त्यो इतिहासकै गलत निर्णय हुनेछ!!!

भूपीन खड्का : लेखक तथा प्राध्यापक
जनतालाई दैनिक अठार घण्टासम्म अँध्यारोमा राखिरहेको खराब शासन र शासनको कृपाप्राप्त बिचौलियाहरूले हाम्रो उज्यालोको हरण गरिदिएका थिए। चोरिएको त्यही उज्यालो फिर्ता गर्न तिमी #प्रमिथस बनेर आयौ हाम्रो जीवनमा। हामीले फेरी उज्यालो पायौँ। प्रिय #कुलमान, तिमीप्रति हामी आभारी छौँ। तिमी उज्यालो नेपालका असल योद्धा, तिम्रो विकल्प अरू कोही हुनै सक्दैन। जनताप्रति थोरै भएपनि सदासयता छ भने, सरकारले सुनोस् यो जनचाहनालाई।#WeNeedKulmanGhishing

मानदेव अधिकारी : व्यवसायी
तस्बिर आफैं बोल्छ!!! विगतमा नेपालीलाई १८ घण्टासम्म लोडसेडिङको अन्धकारमा राख्ने कुलंगार मुकेश काफ्ले, पुनः विद्युत प्राधिकरणको सिइओमा दावेदार गर्दैछ!!! यसलाइ सेयर गरि नबनाउन खबरदारी गरौं।



























