रुकुम, भदौ ९ । रुकुम (पूर्व) जिल्ला तत्कालका लागि कोरोना सङ्क्रमणमुक्त भएको छ। जिल्लामा भेटिएका २४ कोरोना सङ्क्रमित निको भएर घर फर्किसकेका छन्।
आइसोलेसनमा बसेका सबै सङ्क्रमित निको भएर घर फर्किएपछि तत्काललाई जिल्ला कोरोना सङ्क्रमणमुक्त भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवप्रसाद शर्माले बताए।
जिल्लामा अहिले शून्य सङ्क्रमणको अवस्था भए पनि पुनः सङ्क्रमण देखिने जोखिम कायमै रहेकाले थप सचेतना अपनाउन आग्रह गरिएको छ।
कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि प्रहरी, प्रशासन, स्थानीय सरकार सबैले उच्च सतर्कता अपनाउँदै कडाइ गरेका छन्। यहाँ घर बाहिर निस्कनेलाई मास्क र जिल्ला भित्रिने जोसुकैलाई पनि पिसिआर परीक्षणको रिपोर्ट पनि अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
यसका साथै गए राति १२ बजेदेखि लागू हुनेगरी १४ गते राति १२ बजेसम्मका लागि जिल्ला भित्रिने सबै सीमानाका बन्द गरिएको छ।


























