चितवन, भदौ ८
भरतपुरको औद्योगिक प्रदर्शनी केन्द्रमा गत चैत ७ मा १० आईसीयूसहित ७५ शय्याको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल सञ्चालनमा आयो। तर खास आवश्यकताको यो समयमा भने अस्पताललाई प्रयोगमा ल्याइएको छैन।
केही सातायता मुलुकभर कोरोना संक्रमितको संख्या तीव्र रुपले बढ्दा अस्पतालका शय्या भरिभराउ भए। यही अवस्था चितवनको लागि डेडिकेटेड अस्पताल भरतपुर अस्पतालमा पनि रह्यो। साउनको पहिलो सातापछि भरतपुर अस्पतालमा संक्रमितको चाप यसरी बढ्यो कि यहाँको ७५ शय्याको आइसोलेसन कक्ष भरिएको पनि एक साता पुगिसकेको छ। शय्या अभावमा त्यसयता थपिएका अधिकांश संक्रमित ‘होम आइसोलेसन’मा छन्। यस्तो अवस्थामा पनि कोरोना अस्थायी अस्पताल खुल्ने-नखुल्ने अन्योल कायमै छ।
भरतपुर महानगरपालिकाले ७२ घण्टामै निर्माण गरेको भनेर त्यसबेला कोरोना अस्पतालले निकै चर्चा बटुल्यो। तर अनेक विवादपछि शौचालय मर्मतका लागि भन्दै असार २ मा अस्पताल बन्द गरियो। बन्द गरिएको दुई महिना नाघिसक्दासमेत अस्पताल खोल्नेतर्फ सरोकारवाला कसैको चासो देखिएको छैन। स्वयं सञ्चालनको जिम्मेवारी पाएको भरतपुर अस्पताल प्रशासनसमेत यसबारेमा स्पष्ट खुल्न चाहँदैन।
आइसोलेसन भरिएपछि भरतपुर अस्पताल विकास समिति अध्यक्ष डा. भोजराज अधिकारीले यहाँका निजी मेडिकल कलेज र अस्पतालहरुलाई कोरोना संक्रमितको उपचारमा जुट्दै आफ्नो जिम्मेवारी बहन गर्न सार्वजनिक अपिल नै गरे। उक्त अपिलमा भरतपुरमा तत्कालै ७५ भेन्टिलेटर, १५० आईसीयू र ३०० शय्याको आइसोलेसन तयार गर्नुपर्ने बताउँदै यसका लागि भरतपुर अस्पतालसँग समन्वय गर्न यहाँका सबै ठूलासाना अस्पताललाई आग्रह पनि गरे। तर उक्त अपिलमा सामान्य मर्मतपछि खुलाउन सकिने कोरोना अस्पतालबारे उनले केही उल्लेख गरेनन्।
अस्थायी रुपमा बन्द गरिएको भनिएको कोरोना अस्पताल अहिलेसम्म किन खोलिएको छैन त? अस्पताल अध्यक्ष डा. अधिकारी भन्छन्, ‘स्रोतसाधनको अभावले कोरोना अस्पताललाई ब्यूँताउन नसकिने अवस्था छ।’ यसअघि हामीसँगको कुराकानीमा भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले पनि यही जवाफ दिएका थिए। (हेर्नुहोस् यो सामाग्री)
विवादको भुमरीमा परेपछि…
चैत २१ मा महानगरले कोरोना अस्पताल सञ्चालनको जिम्मेवारी वैशाख १ बाट भरतपुर अस्पताललाई दिने सम्झौता गरेको थियो। सोहीअनुसार भरतपुर अस्पतालले वैशाख १ गते दिउँसो सामानहरूको विवरण पनि बुझ्यो। तर त्यसको अघिल्लो रात महानगर र अस्पतालका कर्मचारीले स्टोरबाट सामान बाहिर निकालेको सीसीटीभी फुटेज सहित अस्थायी अस्पतालका सामान चोरी भएको समाचार बाहिर आयो (वैशाख १५)।
यसपछि भने अस्पताल विवादमा तानिने क्रम सुरु भयो। सोचेभन्दा बढी अस्पताल सञ्चालन खर्च, आर्थिक हिनामिना भएको उजुरीपछि अख्तियारले छापा मारी कागजात जफत गर्नु तथा संक्रमित राखिएको शय्यामुनिबाट शौचालयको पानी बगेको भिडियो भाइरल भएपछि अस्पतालले निर्माणताका जति छिटो चर्चा बटुलेको थियो, उसैगरी शाख गुमायो पनि।
यतिखेर महानगर आफैंले निर्माण गरेर राम्रोसँग सञ्चालन गर्न नपाउँदै बन्द भएको अस्पताललाई मर्मत गरेर पुन: सञ्चालन गर्नुको साटो नयाँ आइसोलेसन केन्द्र बनाउने तयारीमा छ। डा. अधिकारी पनि त्यही नयाँ आइसोलेसन केन्द्रको प्रतिक्षामा देखिन्छन्। उनी भन्छन्, ‘भरतपुर महानगरले बागेश्वरीको योगी नरहरीनाथ आश्रमभित्र रहेको प्राकृतिक चिकित्सालयमा आइसोलेसन बनाउन लागिरहेको छ’। उनले उक्त आइसोलेसन केन्द्र व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए।
यसबारे बुझ्न महानगर प्रमुख रेनु दाहाललाई पटक पटक सम्पर्क गर्दा पनि फोन उठेन। महानगर प्रमुखका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले भने भरतपुर अस्पताल व्यवस्थापन पक्षलाई बन्द भएको कोरोना अस्पताल पुनः सुचारु गर्न महानगरले निर्देशन दिएको बताए। स्रोत र साधन अभावले बन्द भए पनि उक्त अस्पताल छिट्टै सुचारु हुने उनको दाबी छ।
अस्पताल खुलाउन सहयोग चाहिए तयार : जोशी
तर महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले भने आफूहरुले हस्तान्तरण गरेको कोरोना अस्पताल पुनः सुचारु गर्ने-नगर्ने जिम्मा स्वयं भरतपुर अस्पताललाई रहेको बताउँदै यसको जिम्मेवारीबाट पन्छिए। ‘बन्द अस्पताल सुचारु हुने वा नहुनेबारे मलाई केही जानकारी छैन,’ उनले भने, ‘हाम्रो काम भनेको निर्माण गरी हस्तान्तरण गर्ने थियो। त्यो भइसकेको छ।’ यदि स्रोतसाधनको अभावले अस्पताल बन्द भएको हो भने सुचारु गराउन सहयोग जुटाउन परे पनि महानगर तयार रहेको उनले स्पष्ट पारे।
जिल्लामा कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि बागेश्वरीको योगी नरहरीनाथ आश्रमभित्रको प्राकृतिक चिकित्सालयमा आइसोलेसन केन्द्र बनाउन लागेको उनले पुष्टि गरे। बागेश्वरी आइसोलेसन केन्द्रमा तत्काल १ सय जना र पछि २ सय जनासम्मलाई राख्न सकिने गरी तयारी भइरहेको उनले बताए। ‘यसको व्यवस्थापकीय जिम्मेवारी प्राकृतिक चिकित्सालयलाई नै दिन लागिएको छ,’ उनले भने, ‘यहाँ लक्षण नदेखिएका संक्रमितलाई मात्रै राखिनेछ।’


























