चितवन । भरतपुर अस्पतालका डेढ दर्जन स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार आइतबारसम्ममा चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी एवम् कर्मचारी गरी १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। अस्पताल विकास समितिका अध्यक्ष डा. भाेजराज अधिकारीका अनुसार अस्पतालका अधिकांश संक्रमित स्वास्थ्यकर्मी फिबर क्लिनिक (ज्वरो नाप्ने) र स्वाब संकलन गर्ने काममा खटिएका थिए।
‘कर्मचारीमा नै संक्रमण देखिएपछि हामीले सम्पूर्ण कर्मचारीको पीसीआर परीक्षण गर्ने काम सुरु गरेका छौं,’ उनले भने, ‘लगातार काममा लगाउन जोखिम भएपछि हाल हरेक विभागका कर्मचारीलाई भागबण्डा गरेर महिनामा ७ दिन काम गर्ने र ७ दिन क्वारेन्टाइनमा बस्ने व्यवस्था गरेका छौं।’ यसो गर्दा यदि कसैलाई संक्रमण भइहाल्यो भने पनि सेवा प्रभावित नहुने र थोरै जनशक्तिबाट पनि सेवा सञ्चालन गर्न सकिने उनको भनाइ छ।
भरतपुर अस्पतालमा ए, बी र सी गरेर तीन वटा ब्लक रहेका छन्। कोभिड संक्रमितलाई ए ब्लकमा र अन्य बिरामीलाई बी र सी ब्लकमा राखेर उपचार गरिएको छ। संक्रमितको उपचारमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई होटेलमा क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए।


























