चितवन । ७२ घण्टामा नै तयार भएको भनेर चर्चामा आएको चितवनको भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पताल मर्मत सम्भारको कारण देखाउँदै सेवा स्थगित गरिएको एक महिना पुग्दासमेत अस्पतालका सेवा पुनः सुचारु गर्ने वा नगर्ने कुनै अत्तो पत्तो छैन। भरतपुर अस्पतालले असार २ गते मर्मत सम्भारका लागि सेवा स्थगित गरिएको विज्ञप्ती सार्वजिनक गरे पनि अहिलेसम्म कामले गति लिन नसक्दा अन्यौलता सिर्जना भएको हो।
चोरी प्रकरणमा मुछिएपछि असार २ गते भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल बन्द भएको घोषणा गरेको १० घण्टा नबित्दै भरतपुर अस्पतालले पुनः अर्को विज्ञप्ती जारी गर्दै मर्मत सम्भारका लागि हाललाई सेवा स्थगित गरिएको जनाएको थियो। भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीद्वारा हस्ताक्षरित विज्ञप्तीमा कोरोना विशेष अस्थायी अस्पताल बन्द भएको घोषणा गरिएको थियो भने त्यसलगत्तै राति पुनः अर्को विज्ञप्ति निकाल्दै मर्मत सम्भारको कारण देखाउँदै हाललाई सेवा स्थगित गरिएको जनाएको थियो। उक्त अस्पताललाई पूर्णरूपमा निर्मलीकरण गरिने विज्ञप्तीमार्फत जानकारी गराएको थियो। तर, मर्मत सम्भारको लागि भनेर बन्द गरेको महिना दिन बितिसक्दासमेत कामको कुनै प्रगति नदेखिएपछि भरतपुर अस्पतालप्रति फेरि प्रश्न उठेको छ। आखिर महिना दिनसम्ममा पनि मर्मतको काम किन भएन त ?
अस्पताल स्थापना भएपछि कोरोना संक्रमित राखेकै कारण मर्मतको लागि तत्काल काम हुन नसकेको भरतपुर अस्पतालले बताएको छ। अस्पतालले प्राविधिकको भनाइ कुरेको भन्दै बहाना बनाइरहेको छ। ‘संक्रमितहरु रहेका कारण पहिला सुरक्षाका लागि अस्पताल निर्मलीकरण हुनुर्पछ। त्यसपछि प्राविधिकहरु ल्याएर देखाउँछौं। प्राविधिकहरुले के भन्नु हुन्छ हेरौं, नभए तत्कालका लागि अस्पताल बन्द भएको हो,’ भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा तिवारीले भने।
स्थापनाताका ‘चिनियाँ शैलीमा ७२ घण्टाभित्रै अस्पताल स्थापना’ भनेर झ्याली पिटेको दुई महिना नपुग्दै कर्मचारीहरुबाटै सामान चोरी भएको आरोप लागेपछि अन्नतः बन्द भएको अस्पतालमा अहिलेसम्म कुनै मर्मत संभार भएको छैन। मुल गेटमा तारले बाधिएर छाडेको अस्पतालमा रेखदेखका लागि कुनै सुरक्षा गार्डको व्यवस्था भएको देखिँदैन। २ जना सुरक्षाकर्मीले सुरक्षा दिँदै आए पनि करिब एक हप्तादेखि सुरक्षाका लागि कोही पनि नआएको चितवन प्रदर्शनी केन्द्रको कार्यालय रेखदेख गर्दै आएका सुरक्षा गार्ड यमबहादुर सुवेदीले बताए। भरतपुर अस्पताल मातहत सञ्चालनमा रहेको अस्थायी अस्पताल मर्मतका लागि स्थगित गरिएको भनिए पनि अस्पतालको तर्फबाट कोही नआएपछि एक हप्तादेखि रातिको समयमा चितवन उद्योग संघकै सुरक्षा गार्डले पहरा दिइरहेका छन्।
‘अहिलेसम्म अस्पताल मर्मत सम्भारको काम भएकै छैन, मर्मत सम्भार भएको भए कामदारहरु त देख्न सकिन्थ्यो नि,’ उनले भने। उनका अनुसार अस्पतालका एक जना कर्मचारी दैनिक ३ देखि ४ घण्टा कार्यालय आउने र त्यसपछि पुनः कार्यालय बन्द गरेर जाने गरेका छन्। अस्पताल बन्द भएको केही समयपछि एकपटक भरिएको शैचालय सफा गर्नुबाहेक मर्मतको लागि कोही पनि नआएको उनले बताए।
कोरोना संक्रमणको उच्च जोखिम नियन्त्रणका लागि भन्दै २०७६ चैत ७ गतेबाट भरतपुरको औद्योगिक प्रदर्शनी केन्द्रमा अस्पताल सञ्चालनमा आएको थियो। तर, ७२ घण्टामै बनेको कोरोना विशेष (अस्थायी) अस्पताल स्थापना भएको ७२ दिन पुग्दा नपुग्दै विवादै विवादले घेरियो र अचानक बन्द गर्ने घोषणा गरियो। त्यसपछि जनस्तरबाटै सर्वत्र आलोचना भएपछि घोषणालाई सँच्याउँदै मर्मतका लागि केही समय मात्रै बन्द गर्ने जनाइएको थियो। अस्पतालमा कोभिड–१९ संक्रमितका लागि अत्यावश्यक भेन्टिलेटरसहितको आइसियू समेत बनाउने भनेर प्रचार गरिए पनि सामान्य आइसोलेसन वार्ड बनाउनुबाहेक अन्य खास काम केही पनि भएको थिएन।

चोरी प्रकरण
वैशाख १६ गते कर्मचारीहरुले नै सामान चोरी गरेपछि चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा अख्तियार दुरुपयोग अुनसन्धान आयोगले छापा मारेको थियो। अस्पतालका सामग्रीहरु कर्मचारीहरुले नै चोरी गरेको सिसिटिभी फुटेज बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगकले कोरोना विशेष (अस्थायी) अस्पतालमा छापा मार्न पुगेको थियोे। हेटौंडाबाट पुगेको अख्तियारको टोलीले अस्पतालमा छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको थियो।
२५ लाखको शौचालय, बेडमुनि पानी
अस्थायी अस्पताल बनाउने भएपछि १२ वटा शौचालय र बाथरुम निर्माणमा २५ लाख ४४ हजार ५४८ रुपैयाँ खर्च भएको विवरण पेश भएको छ। भरतपुर अस्पतालले व्यवस्थापनको जिम्मा लिनुअघि उक्त अस्थायी अस्पतालका लागि एक करोड २६ लाख ४८ हजार रुपैयाँ खर्च भएको विवरण छ। तर, अस्पतालमा बिरामी सुत्ने बेडमुनी नै शौचालयको पानी बगेको भिडियो नै बाहिरिएपछि भने २५ लाखको शौचालय भनेर सामाजिक सञ्जालमा व्यङ्ग्य चर्कियो। त्यसपछि उपचाररत २८ जना बिरामीलाई भरतपुर अस्पतालमा सारेर अस्पताल खाली गरियो। कोरोना संक्रमितकै उपचारको लागि भनेर स्थापना गरेको अस्पताल नै अलपत्र परेपछि त्यसको भार भरतपुर अस्पतालले थेग्न परेको छ। यही अलपत्रबाट उम्किनको लागि अचानक अस्पताल बन्द गर्ने विज्ञप्ती सार्वजनिक भएको थियो।
कोरोना आशङ्का गरिएका र सङ्क्रमितको उपचार गर्न प्रदेश ३ सरकारले अस्पताल संचालनका लागि एक करोड रुपैयाँ दिएको थियो। अस्पतालका कर्मचारीले रातको समयमा सामानहरु पोको पारेर लगेको भिडियो सार्वजनिक भएपछि अख्तियारले छापा मारेको थियोे।

अब के हुन्छ ?
स्थलगत अवलोकन गर्दा मर्मत सम्बन्धी कुनै काम नभएको देखिएपछि लगातार न्युजले भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीसँग कुराकानी गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन। र धेरैबेरको प्रयासपछि अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीसँग भएको फोन सम्पर्कमा यो विषयमा प्रश्न गरेका थियौँ।
अस्पतालका मेसु तिवारीका अनुसार भरतपुर अस्पतालसँग आर्थिक स्रोत साधन अभाव भएकाले मर्मत सम्भारको काम अगाडि नबढेको र स्थगित गरिएको अस्पतालको सेवा सुचारू गर्न सकिएको छैन। ‘मर्मत सम्भारका लागि सर्वे गरेर स्रोतसाधन कति लाग्छ भन्ने यकिन भएपछि मात्र मर्मत सम्भार गर्न सकिन्छ,’ उनले भने, ‘हामीसँग स्रोतसाधन छैन, बन्द अस्पताल कहिले खुल्ने भन्ने बारेमा समितिसँग छलफल गरिरहेका छौँ।’ भरतपुर महानगरपालिकाले कोरोना नियन्त्रण कार्यदलमार्फत सुरू गरेको अस्थायी अस्पतालका प्रबक्ता डा. भोजराज अधिकारी स्वयम् भरतपुर अस्पताल विकास समितिको अध्यक्ष नियुक्त भएपछि उक्त अस्थायी अस्पताल सञ्चालन गर्ने जिम्मा भरतपुर अस्पतालले नै स्वीकारेको थियो। तर यतिबेला भने आफूसँग मर्मत गर्ने स्रोत नभएको भन्दै स्रोत जुटाउनकै लागि भरतपुर महानगरपालिका र जिल्ला समन्वय समितिलगायतका सरोकारवाला निकायसँग हारगुहार चलिरहेको उनको भनाई छ। उतिबेला आफूले सञ्चालन गर्न सगर्व जिम्मा लिएको भरतपुर अस्पतालले यतिबेला स्रोत नै नभएको भनी मर्मत गर्ने जिम्मेवारीबाटै पन्छिन खोज्नुको पछाडि उक्त अस्थायी अस्पताललाई पूर्ण रूपमा बन्द गर्ने घुमाउरो बाटो खोजिएको हो कि भन्ने शंका गर्न सकिन्छ।




























One Comment
Pingback: संकटमा काम लागेन कोरोना अस्पताल, एउटा तुहियो अर्को खुल्दै | लगातार समाचार