भदौ ८ । कुनैपनि खेलमा टिम या खेलाडीको हार हुँदा समर्थकहरु उत्सव मनाउदैनन्।
तर, फ्रान्सको शहर मार्सेलीमा भने फ्रेन्च क्लब पराजित हुँदा उत्सव मनाईएको छ।
पोर्चुगलको लिस्बनमा आइतबार राति च्याम्पियन्स लिगको फाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भयो।
जर्मन क्लब बायर्न म्युनिखसँग पीएसजी १-० ले पराजित हुँदै उपाधिबाट बन्चित भएको थियो।
पीएसजीको हारसँगै मार्सेली शहरमा उपाधि जितेको जस्तै उत्सव भएको थियो।
पीएसजीको हारमा उत्सव मनाउने थिए, फ्रेन्च क्लब ओलम्पिक डी मार्सेलीका समर्थक।
फ्रेन्च लिग वानका प्रतिद्वन्दी क्लब पीएसजी पराजित भएपछि मार्सेली समर्थक खुशीले उत्सव मनाएका हुन्।
उनीहरु उत्सव मनाउन सडककै निस्किएका थिए। र, आतिशबाजी गरेका थिए। पीएसजीविरुद्ध नाराबाजी गरेका थिए।
मार्सेली समर्थकहरु पीएसजीलाई सबैभन्दा बढी घृणा गर्छन्। केहि दिन अघि मार्सेलीका समर्थकले पीएसजीका समर्थकलाई आक्रमण समेत गरेका थिए।
दुई क्लबका समर्थकबीच हिंसात्मक गतिविधि भएपछि मार्सेलीमा पीएसजीको जर्सी प्रयोग गर्न प्रतिबन्ध समेत गरिएको थियो।
तर, चौतर्फी विरोध भएपछि प्रहरीले प्रतिबन्ध फिर्ता लिएको थियो। एजेन्सी


























