काठमाडौं, भदौ ८ । नेपाल तरुण दलले कोरोना संक्रमणको महामारीको बेला अग्रपंक्तिमा रहेर सेवा दिने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि दुर्व्यवहार गर्नेहरुलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ।
अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ति जारी गर्दै केही दिनदेखि लगातार रुपमा देशका विभिन्न स्थानमा स्वास्थ्यकर्मी लगायत समाजको अग्रपंक्तिमा उभिएर सेवा प्रदान गर्ने पेशा, समुदायप्रति हुँदै आएको दुर्व्यवहार अपहेलना र आक्रमण रोक्न माग गरेका छन्।
‘यस्तो अमानवीय व्यवहारमा संलग्न जोसुकै होस् कारबाहीको दायरामा ल्याउन र अग्रपंक्तिमा रहेका सेवाकर्मीको मनोवल वृद्धि हुने कार्य अघि बढाउनका निम्ति सरकार समक्ष नेपाल तरुण दल केन्द्रीय समिति जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ।
जोखिमपूर्ण अवस्थामा पनि अनवरत रुपमा सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अत्यावश्यक सेवा आपूर्तिकर्ताप्रति तरुण दलले सम्मान प्रकट गर्ने पनि विज्ञप्तिमा उल्लेख छ।


























