भदौ ७ । च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि पेरिस सेन्ट जर्मेन (पीएसजी) र बायर्न म्युनिखबीच आज (आईतबार) राति प्रतिस्पर्धा हुदैछ।
पोर्चुगलको लिस्बोनमा हुने फाईनल खेल नेपाली समय अनुसार राति पौन १ बजे सुरु हुनेछ।
फ्रान्सेली क्लब पीएसजी पहिलो पटक र जर्मन क्लब बायर्न म्युनिख छैटौ पटक च्याम्पियन्स लिगको उपाधि जित्ने अभियानमा रहेका छन्।
बायर्नका प्रशिक्षक हान्सी फिल्किले उत्साहपूर्ण सिजनलाई च्याम्पियन्स लिगको उपाधि सहित अन्त्य गर्न सबै चिज दिने बताएका छन्।
जर्मन च्याम्पियन र कप विजेता बायर्न आईतबार राति पीएसजीबिरुद्ध शानदार जित सहित सिजनको सुखद समाप्त गर्ने योजनामा छ।
बायर्नले अन्तिम पटक सन् २०१३ मा च्याम्पियन्स लिगको उपाधि जितेको थियो।
‘यो निकै बिशेष खेल हो।’ बायर्न प्रशिक्षक फिल्किले भने।
बायर्नले यस सिजन च्याम्पियन्स लिगका सबै १० खेल जितेको छ।
‘हामीले एक ठुलो पाईला चालेका छौ। टिम उपाधिका लागि सबै चिज दिन तयार छ।’ उनले भनेका छन्।
धेरै पटक फाईनल पुगेको बायर्नलाई उपाधि भिडन्तमा भेट्नु आफ्ना लागि थोरै फाईदाको बिषय भएको पीएसजीका प्रशिक्षक थोमस टुचेल बताउँछन्।
‘यो निकै ठुलो चुनौती हो। र हामी निकै आत्मविश्वासी छौ।’ बोरुसिया डर्टमण्डका पूर्व प्रशिक्षकले भने।
‘हामीलाई फाईनलमा आफ्नो स्थान पाएको अनुभुती छ। हामी लड्नका लागि तयार छौ।’ उनले भने।
सेमिफाईनलको खेलमा मांशपेशीमा समस्या देखिएका बायर्नका जिरोमी बोटिङ्गलाई फिटनेशको समस्या छ। फ्रान्सेली डिफेन्डर बेन्जामिन पाभार्ड फाईनल खेलमा उपलब्ध हुनेछन्। उनी लियोनबिरुद्ध प्राप्त ३–० को जितमा बेन्चबाट खेलको सुरुवात गरेका थिए।
पीएसजीका गोलकिपर किलर नाभास फाईनल खेलमा उपलब्ध हुनेछन्। रियल मड्रिडबाट तीन पटक च्याम्पियन्स लिग जितेका उनी चोटका कारण सेमिफाईनलको खेल गुमाएका थिए। एजेन्सी


























