भदौ ७ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले शानदार बलिङ प्रर्दशन गरेपनि क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा जमैकाले लगातार दोस्रो हार ब्यहोरेको छ।
शनिबार राति गुएना अमेजन वारियर्सबिरुद्धको खेलमा सन्दीप सम्मिलित जमैका १४ रनले पराजित बनेको हो।
१ सय १९ रनको सामान्य लक्ष्य पछ्याएको जमैकाले ७ विकेटको क्षतीमा १ सय ४ रनमात्र बनाउन सक्यो।
उसका आन्द्रे रसेलले अविजित ५२ रन बनाएपनि टोलीको हार टार्न सकेनन्। सन्दीप लामिछाने ३ बल खेल्दै शुन्य रनमा आउट भए।
सुरुवातमा ब्याटिङ गरेको गुएनाले निर्धारित ओभर सकिन ५ बल बाँकी छदै अलआउट भएर १ सय १८ रन बनाएको थियो।
गुएनाका ब्रान्डन किंगले सर्वाधिक २९ रन बनाएपनि अन्यले उल्लेख्य प्रर्दशन गर्न सकेका थिएनन्।
नेपालका सन्दीपले किफायती बलिङ प्रर्दशन गर्दै दुई विकेट लिएका थिए। सन्दीपले ४ ओभर बलिङ गर्दै ८ रन खर्चिएर २ विकेट लिएका हुन्।
उनले शेरफेन रदरफोर्डलाई ६ रनमा पोविलियनको बाटो देखाए भने क्रिस ग्रिनलाई २ रनमा बोल्ड गरेका थिए।
जमैकाले लगातार दोस्रो खेलमा हार ब्यहोरेको छ। उसले तीन खेलमा मात्र २ अंक बटुल्दै तालिकाको पुछारदेखि दोस्रोमा छ।
सन्दीप लगातार तेस्रो सिजन सीपीएल खेल्दैछन्। कोरोना महामारीका कारण सीपीएलका खेल बन्द रंगशालामा सञ्चालन भईरहेको छ। एजेन्सी


























