चितवन, भदौ ४ । डिभिजन वन कार्यालय चितवनले ४४९ क्यूफिट अवैध काठ बरामद गरेको छ।
गोप्य सूचनाका आधारमा जिल्लाका विभिन्न स्थानबाट सो परिमाणमा काठ बरामद गरिएको हो।
भरतपुर महानगरपालिका –१६ बाट ५९ क्यूफिट काठसहित फर्निचर उद्योग सञ्चालकलाई बुधबार नियन्त्रणमा लिइएको छ।
सिद्धार्थ फर्निचर उद्योगका सञ्चालकलाइ अवैध काठसहित पक्राउ गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए। सञ्चालक राम नेपालीको फर्निचर उद्योगबाट साल, सल्लो र सिसौको काठ बरामद गरिएको खनालले बताए।
‘काठ खरीदको आवश्यक कागज र विल भेटिएको छैन’, उनले भने’, ‘थप अनुसन्धानपछि पुष्टि हुन्छ।’
फर्निचर सञ्चालक नेपाली र काठ डिभिजन वन कार्यालयमा राखिएको छ। काठको स्रोत नखुलेका अवस्थामा वन ऐन २०७६ बमोजिम कारबाही गरिने खनालले बताए।
यस्तै इच्छाकामना गाउँपालिकाको करिनाटरमा जनप्रतिनिधिले सञ्चालन गरेको फर्निचर उद्योगबाट अवैध रुपमा राखिएको सालको गोलाइ डिभिजन वन कार्यालय चितवनले मङ्गलबार बरामद गरेको छ।
गाउँपालिकाका वडा सदस्य बाबुकाजी त्रिपाठीको फर्निचर उद्योगबाट डिभिजन वन कार्यालय र प्रहरीको संयुक्त टोलीले सालको काठ बरामद गरेको हो। अवैध रुपमा राखिएको सालको काठ भेटिएपछि वडा सदस्य त्रिपाठी अनुसन्धानमा तानिएका छन्। सालको गोलाइको स्रोत खुलेको छैन।
त्रिपाठीको फर्निचरबाट बरामद गरिएको ३९० क्यूफिट सालको गोलाइ काठ जिल्ला वन कार्यालयमा राखिएको छ। उक्त काठका विषयमा अनुसन्धान थालिएको खनालले बताए। रासस


























