बाँके, भदौ ४ । थरुहट थारुवान राष्ट्रिय मोर्चाले ७/८ भदौमा गर्ने विरोधको कार्यक्रम स्थगित गरेको छ। २७ साउनमा पत्रकार सम्मेलन मार्फत ७/८ भदौमा गर्ने भनिएको विरोधका कार्यक्रम स्थगित गरिएपनि अन्य संघर्षका कार्यक्रम जारी रहेको मोर्चाले जनाएको छ।
‘नेपाल सरकारसँग १३ बुँदे माग राखेर घोषणा भएको कार्यक्रमहरु कोरोना महामाहरीको कारण मुलुकमा भइरहेको बन्दाबन्दी र सङक्रमणबाट हुनसक्ने भयाभह स्थितिलाई मध्यनजर गर्दै अर्को सूचना जारी नगरुन्जेलसम्मका लागि भदौ ७ र ८ गते गर्ने भनिएको कार्यक्रम स्थगित गरिएको छ,’ मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
टीकापुर थरुहट विद्रोहलाई स्मरण गर्दै ७ भदौमा काठमाडौं केन्द्रित गर्दै देशव्यापीरुपमा विरोधको कार्यक्रम गर्ने र टीकापुरमा भएको थारुहरुको घर, पसल, व्यवसायिक केन्द्र तथा संचार गृहमा भएको आगजनी, तोडफोड, लुटपात एवं गृह प्रशासनको दमनको विरुद्ध ८ भदौमा कालो दिनको रुपमा मनाउने कार्यक्रम थियो।
थरुहट थारुवान राष्ट्रिय मोर्चा सम्बद्ध केन्द्रीय समिति, सल्लाहकार, भातृरभगिनी यूवा, महिला संगठन, जिल्ला, नगर, गाउँ संघर्ष समितिलगायत सम्बन्धित सबैमा यही विज्ञप्तिलाई आधार मानेर घोषित कार्यक्रम नगर्न/नगराउन मोर्चाले आग्रह समेत गरेको छ।
संघर्षका कार्यक्रमको स्वरुप मात्रै परिवर्तन भएको बताउँदै उनले आन्दोलनको कार्यक्रम निरन्तर जारी रहेको स्पष्ट पारेका छन्। ‘समय र परिस्थिति अनुकूल हुने वित्तिकै सशक्त संघर्षको कार्यक्रम घोषणा गरिनेछ,’ थारुले भनेका छन्।



























