काठमाडौं, भदौ ३ । संघीय संसदका सांसद यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण भएको छ। कोरोना संक्रमण देखिएपछि उनी कीर्तिपुरस्थित आयुर्वेद अस्पतालको आइसोलेसनमा छन्।
उनले साउन ३० गते कोरोना परीक्षण गराएका थिए। रिपोर्ट पोजेटिभ आए पनि कोरोनाका कुनै लक्षण नदेखिएको उनले बताए।
उनले सावधानी अपनाउँदा अपनाउँदै पनि कोरोना सरेको प्रतिक्रिया दिएका छन्।
नेकपाका महासचिव विष्णु पौडेलमा कोरोना देखिएपछि बोगटी र उनका पीएले पनि परीक्षण गराएका थिए। ३१ गते बोगटीको रिपोर्ट नगेटिभ आएको थियो। उनका पीएमा भने पोजेटिभ देखिएको थियो।
पहिले नेगेटिभ आएको भनिए पनि सोमवार भने पोजेटिभ आएको उनले बताए। काठमाडौं महानगरपालिकाका कर्मचारीले पोजेटिभ रिपोर्ट आएको भन्दै फोन गरेको बोगटीले बताए।
यसअघि संघीय संसदका अर्का सांसद प्रदीप यादवमा पनि कोरोना संक्रमण भएको थियो। अहिले उनी निको भइसकेका छन्।


























