‘बुबा’ शब्द आफैँमा अर्थपूर्ण शब्द हो। संसारको हरेक कुनामा गएर खोजेता पनि बुबाको अर्थ एउटा सिंगो, अनुशासित र संस्कारी परिवारको रूपमा भेटिन्छ। बुबा घरको जग हो, बुबा नै परिवारको उज्यालो हो। संसारको आठौँ आश्चर्य बुबा हो, जसलाई दिनमात्र आउँछ, सन्तानबाट कहिल्यै लिन आउँदैन। मेरो बुबा भन्ने गर्नुहुन्छ, जिन्दगी जिउनको लागि दुई तरिका सधैँ अपनाउनू :
- जे भइराख्या छ हुन देऊ, सहँदै जाऊ, चुँक्क नबोल, दबेर बस।
र अर्को :
- आफ्नो जिन्दगी आफ्नै मुठ्ठीमा राखेर आफ्नै तरिकाले जिउनु छ भने, आफ्नो जिम्मेवारी आफैँ उठाऊ, आत्मबल दह्रो बनाऊ, ती सबै उल्झनबाट आफू उत्रिनको लागि।
बुबा जब खुसी हुनुहुन्छ, तब आफ्नो सन्तानलाई काँधमा बोक्नुहुन्छ। काँधमा बसाउनुको पनि छुट्टै कारण छ। बुबा सोच्नुहुन्छ कि मेरो सन्तानले त्यो सबै कुरा देखोस्, जुन कुराबाट म सदैव बञ्चित थिएँ। हरेक बुबाको सपना हुन्छ, उसको बच्चाले आफूले भन्दा धेरै राम्रो गरोस्। बुबा हिम्मत हो, बुबा नै सन्तानको सुरक्षाकवच हो। बुबा सहारा हो, बुबा सन्तानको पहिलो मार्गदर्शन हो। मेरो बुबा नै संसारको सबैभन्दा बलियो र शक्तिशाली व्यक्ति हो। मेरो बुबा नै मेरो परिवार हो। मेरो बुबा नै मेरो घरको जग हो। बुबा नै हो हामीलाई संसारमा सबैभन्दा अप्रदर्शित माया गर्ने मान्छे। आमाको ओठको मीठो हाँसो बुबा हजुर हो। बुबा नै आमाको अभिमान हो, स्वाभिमान हो। बुवा नै हो हाम्रो सपनालाई पुरा गर्ने, जिम्मेवारी आफ्नो थाकेको काँधमा सजाउने, बुबा नै हो आफ्नो परिवारको लागि आफैँलाई आफैँले पर कतै लगेर बेचिदिने व्यापारी।
बुबा हजुरले म सानो छँदा मेरो हात समाउँदै डुलाउनुहुन्थ्यो। केही पुराना याद कल्पन मन लाग्यो, म फतक्कै गल्दा हजुरले मलाई काधमा बोक्नुहुन्थ्यो, आफूले नदेखेका कुराहरु पनि देख्यौ? देख्यौ? भन्दै सोध्नुहुन्थ्यो। त्यति बेला मलाई लाग्थ्यो, मेरो बुबा त मलाई कति माथिसम्म उचाल्न सक्नुहुन्छ, मेरो बुबाले त यो घर नै उचाल्न सक्नुहुन्छ होला। बुबाले दिनरात नभनी घरपरिवार माथि नै आफ्नो जवानी, इच्छा, आकांक्षा सम्पूर्ण समर्पित गर्नुभयो। बुबाले आफ्ना साना भाइबहिनीलाई सदैव माया गर्नुपर्छ भन्ने ज्ञान मेरो दिमागमा भरिदिनुभयो। केही पाइन्छ भन्ने आशले पैसा ब्याज लगाउन दिए जस्तो होइन सम्बन्ध, एकोहोरो भए पनि उमेरको अनुभव र भोगाइले आफ्नो भाइबहिनीलाई सुविधा दिनुपर्छ भन्नुभयो।
मैले मेरो बुबाले गरेको मेहनत राम्रोसँग देखेकी छु। बुबा बिहानै कोदालो, हलो, फोरुवा बोकेर खेतमा काम गर्न गएको देख्दा बुबाको लागि खान बनाएर लग्थेँ। म भ्यागुता जस्तै बुरुक बुरुक उफ़्रिन्थेँ, मेरो हातको सबै खाजा पोखिएर खानामात्र बाँकी रहन्थ्यो, मेरो बुबा आफ्नो बच्चाले ल्याएको भन्दै चिसो कुवाबाट बग्दै गरेको पानीले खाना मुछ्दै खानुहुन्थ्यो। मेरो बुबाले लगाएको त्यो कछाड लिछिप्पै रुझ्दा पनि उहाँ फोरुवाले बाउसे गर्दै बस्नुहुन्थ्यो। त्यो फोरुवाले बुबाको हातमा फोकैफोका पारिदिन्थ्यो, त्यही फोरुवाको बीडले त्याे हातको फोका फुटाउथ्यो। हजुरले खेत रोप्ने मेलो सहज पार्दिनुहुन्थ्यो। त्यसैले त आज हामीले हीराजस्तै टल्कने सेतो चामलको भात खान सक्यौँ। जति नै दु:ख भए पनि हजुरको आँखा भिजेको कहिल्यै देखिनँ बुबा। हजुरको न कुनै दराज छ, न कुनै मदुस। यति धेरै दु:ख कहाँ लुकाएर राख्नुहुन्छ?
दुखेको त्यो खुट्टाले सकी नसकी झिँजैझिँजा मसिना बाँसका सिम्ठा बोक्दै तरकारीको लागि झिक्रा बनाउनुभयो। तरकारी राम्रो होस् भनी डोकाका डोका मल खन्याउनुभयो, त्यसले त आज त्यो सबै झिक्रा नै हरियाली हुनेगरी विभिन्न थरिका फलफूल फुलेका छन् नि है बुबा? मेरो सन्तानको भविष्य उज्यालो होस् भनेर दुनियासँग कति झुक्नु भयो होला है? तर आज हजुरकै सन्तानले महेनत नै नगरी भाग्यलाई दोष दिँदै बस्दा हजुरको सपना त बन्द सटरभित्र खापिँदै खापिँदै ढुसी लाग्दै गुम्सेको पो रहेछ। बुबा हजुर बजार जानहुन्थ्यो, तर कैयौँ दिनको पसिनाको कमाइले आमालाई साडी ल्याइदिने सपना राख्नुहुन्थ्यो। बुबा हजुरको खल्तीमा पैसा नहुँदा पनि त्यही साडी हेर्दै जाने आउने गर्नुहुन्थ्यो। कामदेखि घरमा आउन एकमुष्ठ पारेको पैसाले आमाको सुन्दर मुहारमा खुसी छर्नको लागि किन्देको त्यो साडी हेर्दा मलाई लाग्छ मेरो बुबासंग टन्नै पैसा छ।
त्यो साडी त्यति बाक्लो रै’छ कि मेरी आमाले आजसम्म अर्को साडी फेरौँ न भनेर बुबालाई कहिल्यै भन्नै सक्नुभएन। म अझै दोधारमै छु, आमाको साडी निकै बाक्लो थियो? या बुबको खल्ती पातलो? आमाको कहानी सबैको मुखबाट सुनिन्छ। तर आमालाई सफल बनाउन आफ्नो काँध नै दाउमा राख्ने बुबाको इतिहास कसैले पढ्दैन, किन ? हरेक बुबाको चिन्ता हुन्छ कि मेरो सन्तानले म अपहेलित भएको ठाउँमा पाइला नटेकून्। बुबाले बारम्बार झक्झकाउने पनि गर्नुभएको छ, आफ्नो जीवनमा आइपरेका काँडा आँफै निकाल्नुपर्छ भनेर। बुबाआमाको आशमा कहिल्यै नबस्नू, जति नै हुनेखाने भए पनि माइतीको धाक नलगाउनु, माइतीको सम्पति भनेको ‘मुतको न्यानो’मात्र हो। बुबाआमाको अनुपस्थितिमा पनि आफ्नो जीवनलाई उत्तिकै सार्थक बनाउन सक्नू।
- छोराछोरी भएर याद गर्नुपर्ने कुरा :
– जसले तिम्रो हृदयलाई प्रेम गर्छ, उसलाई हृदयदेखि सम्मान गर्नू। म मेरो सन्तानलाई मैले रोजेकोसँग विवाह गर्नुपर्छ भनेर कुनै प्रकारको करबल गर्दै गर्दिनँ। तर जसले तिम्रो अस्तित्वको पूजा गर्छ, त्यो मान्छेलाई ढुंगाले कदापी नहान्नू।
– बिना घाउको पीडा नदिने र नसहने :
हजुरले आफ्ना आफन्तसँग कुरा गर्दागर्दै सुनेकी छु, हजुर भन्ने गर्नुहुन्छ रे यो सबै बच्चामाथिको जिम्मेवारी हो मेरो। बुबा हजुरले कसरी सोच्नुभयो कि सबै हजुरकै जिम्मेवारी हो हामीमाथि भनेर? हजारौँजुनी चुकाउन सक्दैनौँ हजुरको त्यो सबै मायाको ऋण थियो हामीमाथि। बुबा जब दुनियाँले मुख बटारेर हिड्छन्, असफलताको आँसु बनेर आँखा नै ओभानो हुन दिँदैन, त्यसैबेलामा परबाट आवाज आउँछ, हामीले त्यो सुन्न सक्नुपर्छ। जुन आवाज हाम्रै मुटुमा धड्किरहेको हुन्छ। अनि भन्नुहुन्छ किन? किन चिन्ता लिन्छौ? म सधैं तिमिसँगै तिम्रै छाया बनेर हिँडेको हुन्छु। बुबा तब पनि भन्नुहुन्छ मेहेनत गर, म छु। बुबाको यही कुराले हामीलाई थप हौसला दिन्छ, त्यसैले त कम्मर कस्न सकिन्छ नि बुबाको चिन्तालाई सफलतामा बदल्न।
- कस्तो माया हो बुबा यो ? घरमा मीठो तरकारी पाक्दा हजुरलाई कहिल्यै भोक नै लाग्दैन?
- बुबा कस्तो माया हो यो ? हजुरको लहरेखोकीले हल्ला भयो भन्दै म कानमा चर्को आवाजको गीत लगाएर सुत्छु, लोडसेडिङ भएपछि हजुर उठ्नै नसक्दा पनि मेरोसामु आएर मलाई नै कापीको हाते पंखाले हम्काउँदै बस्नुहुन्छ।
कस्तो प्रगाढ सम्बन्ध यो बुबा र सन्तानको! बच्चा थोरै पीडामा भए पनि आफैँ अगाडि आएर सबै दु:ख पानी पिएजस्तो घुटुक्क निल्दिन्छन्, बुबा मेरो मन बिनाकारण दुःखी हुन्छ, हजुर भोकै बसेर दमित आवाजमा रुनुहुन्छ, बिनाआवाज, बिनाआँसु बुवा रुनुहुन्छ, आफ्नो बच्चाको दु:खको काँडा आफ्नै पोल्टोमा सिउरिनु हुन्छ, त्यो काँडाले बुबालाई कति घोच्छ होला है? तर कहिल्यै आफ्नो घाउ देखाउनु नै हुन्न।
बुबा, जिन्दगीमा प्रगति होला नहोला, त्यो त अनुमान लगाउनै सक्दिनँ। तर मनलाई बेस्सरी दुःखले च्यापेको बेलामा आफ्नो बुबाको काखमा आएर रुन सके भने पनि मलाई सातजुनी रुन नपर्ने आशिष हजुरको अँगालोले दिन्छ जस्तो लाग्छ। सानैबाट सन्तानले बुबाआमालाई प्रयोग गर्दै आयौँ, कहिल्यै भीडमा हराइन्छ कि भन्ने डरले हरेक ठाउँमा आफ्नै साथ लग्यो, उहाँको हात कहिल्यै छोड्नै खोजेन, मात्र आफ्नो स्वार्थको लागि। जब उहाँहरुलाई हाम्रो साथको आवश्यकता रह्यो, हामी कहिले पढाइको बहानाले, कहिले आफ्नो इच्छाको बहानाले, कहिले स्वतन्त्रताको बहानाले आफूबाट निकै टाढा गर्न खोज्यौँ।
त्यो बुबाआमा नै हो आफ्नो सन्तानको लागि आफूसँग भएको अन्तिम चिज पनि बेचिदिने। आमाको तिनढिके फुली र बुबाको लालपूर्जा बेचेर हामीले आफ्नो सपना पूरा गर्याैँ। तर बुबाआमाको अन्तिम स्वासमा पनि हामी उहाँहरुलाई मठमै सुताएर दराज फुटाल्दै उहाँकै ज्यूनी खोज्न पनि पछि पर्दैनौँ। अब हामी सबैले आफैँ बिचार गरौँ न त के हामीले उहाँहरुलाई उहाँहरुले जत्तिकै निश्चल माया गरेका रहेछौँ त?
म अझै पनि दोधारमै छु हाम्रो लागि दु:ख गर्दागर्दै गलेको त्यही शरीरमाथि चढेर हामीले देखेका सौन्दर्य सपना पूरा भए भने हामी उहाँहरुसँगै बसेर उहाँले पूरा गरेको जिम्मेवारीको ऋण चुकाउन सक्छौ होला? या फेरी पनि बहाना बनाउँदै परपर भाग्छौँ होला? आफ्नो सन्तान भन्दाभन्दै परिवारलाई संस्कारी मूर्तीमा राख्दाराख्दै, बुढेसकालमा पनि नथाक्ने त्यो बूढो काँधको भारी अब हामीले आफ्नो काँधमा सार्न सक्छौ होला?
बुबाले जवानीमा खर्चिएको सम्पूर्ण त्याग उहाँकै इच्छाको बलिदान, उहाँकै अस्तित्वको सम्मान गर्दै उहाँलाई नै त्यो सम्पूर्ण माया अब हामी फिर्ता गर्न सक्छौँ होला ? बुवबाले हामीलाई सानो छँदा दिएको संस्कार, शिक्षा, सही मार्गदर्शन, सुरक्षा, अप्रदर्शित माया, त्यो काँधको जिम्मेवारी हामी अभिभावक हुँदा त्यो सबै कर्तव्य उहाँहरुले जस्तैगरी आफ्नो सन्तानको लागि पूरा गर्न सक्छौ होला? बुबाको सम्पति होइन, बुबाको छाया आफूसँग झल्कनु नै ठूलो आशिर्वाद हो। मैले संसारमा सबैभन्दा बढी विश्वास गर्ने व्यक्ति नै बुबा हो, उहाँको पेट दस दिनकै भोको किन नहोस्। तर उहाँले आजसम्म आफ्नो इमान बेचेर क्षणिक खुसी हुने दुस्प्रयास कहिल्यै गर्नुभएन।
मलाई मेरो जीवनको अन्तिम क्षणसम्म आफ्नो जीवनदाताको कथा कोर्न मन छ,
सम्पूर्ण बुबाहरुमा धेरै माया, अब त आफ्नो काँधको भारी बिसाइदिनुस् न है?
कुशेऔँसीको हृदयदेखि नै सम्पूर्ण बुबाहरुमा समर्पित यो शुभकामना !

























2 Comments
Pratik
“त्यो साडी त्यति बाक्लो रै’छ कि मेरी आमाले आजसम्म अर्को साडी फेरौँ न भनेर बुबालाई कहिल्यै भन्नै सक्नुभएन।”
कसरी सरल भाषा मा बुवा लाई वर्णन गर्यौ, धन्यवाद कृपा। सार्है मिठो।
Aakash
I can somewhat relate this article with my father too..so nice artcile..keep it up 👌👍