काठमाडाैं । सरकारले प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारी (पौडेल)लाई तोक्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई कार्यवाहक अध्यक्षमा तोक्ने निर्णय गरेको अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए। यसअघि सञ्चार मन्त्रालयले भण्डारीलाई काउन्सिलका सदस्यमा नियुक्त गरेको थियो। भण्डारी २५ वर्षदेखि मोफसलमा पत्रकारिता गर्दै आएकी छन्। झापा भद्रपुर नगरपालिका–८ मा जन्मिएकी भण्डारी हाल पोखरा महानगरपालिका–५ मा बस्दै आएकी छन्।
आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेकी उनी कानून व्यवसायीसमेत हुन्। उनले नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य, प्रेस चौतारी नेपालका सचिव र सञ्चारिका समूह पश्चिमाञ्चल अध्यक्षलगायतका जिम्मेवारीमा रहेर काम गरिसकेकी छन्। यसैगरी काउन्सिलका सदस्य पदमा पत्रकार दीपक पाण्डेलाई नियुक्त गरिएकाे छ। पत्रकार महासङ्घका केन्द्रीय सदस्य तथा लेखा संयोजक रहिसकेका पाण्डेले दृष्टि र प्रकाश साप्ताहिकको सम्पादकका रुपमासमेत काम गरिसकेका छन्। हाल जनता टेलिभिजनको सम्पादक सल्लाहकारका रुपमा कार्यरत पाण्डेले सोमबार नै काउन्सिलमा शपथ ग्रहण गरिसकेका छन्। -रासस


























