प्रकाश सिलवाल,
‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे
उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे
तराई हाम्रो सुनको टुक्रा हिमाल हिराको
माटो र पानी पहिलो धन धर्तीका छोराको।’
नेपाली जनमनमा लोकप्रिय कविवर माधवप्रसाद घिमिरेको भौतिक शरीर अब रहेन। वर्तमान आधुनिक कविता, विशेषतः छन्कवितार गीति लेखनमा सर्वाधिक शिखरमा पुगेका राष्ट्रकवि घिमिरेको मंगलबार साँझ (२०७७ भदाै २ गते) लैनचौरस्थित निवासमा १०१ वर्षको उमेरमा निधन भएको हो। उनी आउँदो असोज ७ गते १०२ वर्ष पुग्दै थिए। कोरोना महामारीको जोखिम भएकाले भीडभाड गर्ने स्थिति छैन। राष्ट्रिकवि घिमिरेले विसं २०७२ मा त्रिभुवन विश्वविद्यालयबाट महाविद्यावारिधी र २०७४ मा नेपाली सेनाबाट मानार्थ सहायक रथीको उपाधिलगायत विभिन्न राष्ट्रिय सम्मान र पुरस्कार प्राप्त गरेका थिए।
छोरी मञ्जु अधिकारीका अनुसार कविवर घिमिरे उमेरगतका कारण पछिल्ला दिनमा सामान्य अवस्थ्य हुँदै गएका थिए। उनी आफ्नो जीवनको अर्काे अनुपम कृति ‘ऋतम्भरा’ महाकाव्यलाई प्रकाशनको तयारीमा थिए। छोरी मञ्जुका अनुसार उक्त महाकाव्यलाई लगभग पूरा भइसकेकाे थियाे। तर छन्द मर्मज्ञ र परिष्कारवादी कवि भएकाले पटकपटक आफैँले परिष्कार गरेपछि मात्रै प्रेसमा दिने तयारीमा रहेकाले प्रकाशन हुन पाएको थिएन। ‘सो महाकाव्यलाई अब भाइहरुले प्रकाशनमा ल्याउनेछन्,’ छाेरी मञ्जुले भनिन्, ‘जीवन एक यात्रा हो। बुबा अब नयाँ यात्रामा प्रविष्ट हुनुभएको छ।’
कविवर घिमिरेका पछिल्ला समयमा ‘बुढेससम्मन् पनि ज्यून जानाैं, यो जीवनीको रस प्यून जानौँ’ जस्ता भावका काव्यरस प्रकाशित भएका थिए। नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले कविवरको निधनप्रति दुःख व्यक्त गरे। घिमिरे सयवर्ष पुगेको वर्ष मर्स्याङ्दी वाड्यमय प्रतिष्ठानले उक्त वर्षभरि जन्म शताब्दी मनाई उनको दम्पतीसहित रथारोहण र राष्ट्रियस्तरको अभिनन्दनलगायत कार्यक्रम गरेको थियो। लमजुङको पुस्तुनमा विसं १९७६ असोज ७ गते पिता गौरीशङ्कर र माता द्रौपदीका कोखबाट जेठा सन्तानका रुपमा जन्मिएका घिमिरेको जन्म शताब्दी र अर्धाङ्गिनी महाकाली घिमिरे ८४ वर्ष प्रवेशको अवसरमा निवासमा सहस्र चन्द्रर्शनसहित पारिवारिक र शुभेच्छुकसँगको जमघट कार्यक्रम तय गरिएको थियो।
घिमिरेको जेठी श्रीमती गौरीको विसं २००४ मा निधन भएपछि उनले रचेको ‘गौरी’ शोककाव्य र अन्य दर्जनौँ काव्य, गीतिनाटक, कथा, यात्रा संस्मरण र अनुवाद विधामा उनका कृतिहरू लोकप्रिय मानिन्छन्। राष्ट्रकवि घिमिरेलाई नेपालमा महाकवि लक्ष्मीप्रसाद देवकोटापछिका सर्वाधिक लोकप्रिय स्रष्टा मानिन्छन्। उनका ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नरकिन्नरी’ आदि कविता संग्र्रह प्रकाशित छन्। स्वच्छन्दतावादी र परिष्कारवादी भावधाराका कवि घिमिरेका ‘गाउँछ गीत नेपाली’ जस्ता कैयौँ राष्ट्रिय भावका गीत र कविताहरू जनजिब्रोमा झुण्डिएका पाइन्छन्। घिमिरेका श्रीमती, दुई छोरा र ६ छोरी छन्। – रासस


























