दाङ, भदौ १ । जिल्ला प्रशासन कार्यालय दाङले आज (सोमबार) साँझ ७ बजेदेखि लागू हुने गरी पाँच दिनका लागि रात्रि-कर्फ्यु आदेश जारी गरेको छ।
कोभिड-१९ को विश्वव्यापी संक्रमणसँगै दाङ जिल्लामा पनि संक्रमणको जोखिम उच्च रहेको मूल्यांकन गर्दै भदौ १ देखि ५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो। यो अवधिभर साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म कुनै पनि सामाजिक जमघट तथा हिँड्डुल गर्न पाइने छैन। कर्फ्युको समयमा प्रेस, एम्बुलेन्स, दैनिक अत्यावश्यक उपभोग्य सामग्री ढुवानी गर्ने सवारीसाधन तथा अन्य कुनै प्रयोजनका लागि पास लिएका सवारी साधनबाहेक अरु चल्न पाउने छैनन्।
शुक्रबार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो। कोरोना संकट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकमा जिल्लाका सबै स्थानीय पालिका प्रमुखहरूले दिएको राय/सुझावअनुसार रात्रि-कर्फ्युको आदेश जारी गरिएको केन्द्रका संयोजक रिजालले बताए।


























