चितवन । कोरोना भाइरस र त्यसले निम्त्याएको बन्दाबन्दीले धेरैलाई घरभित्रै कोच्यायो। मान्छेलाई थप फुर्सदिलो बनायो। तर, पुराना सञ्चारकर्मी रमेश रानालाई भने बन्दाबन्दीले अझ चलायमान बनायो। सञ्चारकर्मकै क्रममा सामाजिक तथा सांस्कृतिक परिवेशलाई नजिकबाट नियाल्ने मौका पाएका उनले बन्दाबन्दीको समयमा त्यसलाई पर्दामा उतार्ने प्रयास गरे। नृत्य निर्देशकको परिचयसमेत बनाउन सफल उनले बन्दाबन्दीकै समयमा छोटो चलचित्रको कथा लेखे। त्यतिमात्र होइन, त्यसलाई पटकथा बनाएर निर्देशन गर्नसमेत भ्याए। यसअघि पनि केही छोटा चलचित्र लेखन तथा निर्देशन गरिसकेका उनले बन्दाबन्दीको समयमा छोटो चलचित्र ‘जीवन–आकृति’ निर्देशन गरे।
उक्त छोटो चलचित्र केही दिनअघि मात्रै मझेरी टिभी नामक युट्यूव च्यानलबाट सार्वजनिक भएको छ। चलचित्रमा कलाकारहरु मुना लम्तरीमगर र सुरज थापामगरले अभिनय गरेका छन्। मायाप्रेममा आधारित उक्त चलचित्रलाई विकी लुङ्गेली मगरले दृश्य कैद गरेका हुन् भने सम्पादन पनि विकीले नै गरेका हुन्। रमेश रानामगरले यसअघि पनि २०७० सालमा सामाजिक कथावस्तुमा आधारित रही ‘आमा’ नामक छोटो चलचित्रको लेखन तथा निर्देशन गरेका थिए। त्यसपछि गत चैतमा ‘बाचा–बन्धन’ नामक छोटो चलचित्र बनाएका थिए। उनकै लेखन तथा निर्देशनमा तयार भएको मगर संस्कृतिमा आधारित चलचित्र ‘मिह्री’ भने प्रदर्शनको तयारीमा छ।


























