पछिल्लाे समय काेराेना संक्रमितकाे नियमित निगरानीमा रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी बढी जाेखिममा परेका छन्। चितवन जिल्लामा काेराेना नियन्त्रण र राेकथाममा अहाेरात्र खटिँदै आएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी नै संक्रमणकाे चपेटामा परेपछि जिल्लाका सरकारी अस्पतालले दिँदै आएकाे सेवासमेत प्रभावित भएका छन्। देशकै ठूलाे र सरकारी स्वामित्वमा सुविधासम्पन्न अस्पतालकाे रुपमा परिचित वीपी काेइराला मेमाेरियल क्यान्सर अस्पतालमा कार्यरत १० जना र भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीसहित ७ जना चिकित्सक तथा स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि समग्र चितवनकाे स्वास्थ्य क्षेत्र नै धिरमिराएकाे छ।
भरतपुर अस्पतालकाे अभिभावक नै संक्रमणकाे शिकार हुन बाध्य भएपछि अस्पताल विकास समितिका अध्यक्ष डाक्टर भाेजराज अधिकारीले संक्रमित चिकित्सक तथा सबै स्वास्थ्यकर्मीप्रति शीघ्र स्वास्थ्य लाभकाे कामना गर्दै आमसर्वसाधारणमा पनि सजग रहन आग्रह गरेका छन्। डा अधिकारीले भरतपुर अस्पताल विकास समितिकाे आधिकारिक फेसबुक पेज तथा आफ्नै व्यक्तिगत फेसबुक वालमार्फत संक्रमित सबैलाई आत्मबल बढाएर काेराेनालाई यथाशीघ्र पराजित गर्न सकून् भनेर कामनासमेत गरेका छन्।
डा अधिकारीकाे भनाइकाे सम्पादित अशः
स्वास्थलाभको कामनासहित अपिल।
चितवनमा काेभिड संक्रमण उत्कर्षमा जाँदै गर्दा फ्रन्टलाइनमा रहेर जनताको सेवाको नेतृत्व गर्नुहुने भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डाक्टर श्रीराम तिवारी, स्त्रीरोग विभाग प्रमुख प्रो डा सुनिल पाेखरेल र रत्ननगर बकुलहर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डाक्टर विश्वबन्धु बगालेलगायत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मी साथीहरु काेभिड पाेजेटिभ हुनुभएको छ, उहाँहरुको शीघ्र स्वास्थलाभको कामना गर्दछु। उहाँहरु आइसाेलेसनमा उच्च मनोबलका साथ कोरोना जित्नेमा विस्वस्त हुनुहुन्छ। यो अवस्थामा स्वास्थकर्मीको मनोबल बढाउन, संयम् र सतर्क भएर रोग विरुद्धको होसियारी अपनाउन पनि सबैमा अनुरोध छ।
भरतपुर अस्पतालमा स्वास्थकर्मी र त्यसकाे नेतृत्व नै काेभिड पाेजेटिभ भएपछि केही स्वास्थकर्मी क्वारेन्टाइन जानुपरेको छ भने केही पीसीआर परीक्षणकाे रिपाेर्टकाे पर्खाइमा रहेका छन्। र, केही सेवाप्रवाहका विभाग र युनिटमा निर्मलिकरण गर्नुपरेकोले प्रसूतिलगायत सेवामा परेको अप्ठेरोप्रति क्षमाप्रार्थी छौँ। अस्पतालले बिस्तारित आकस्मिक सेवामार्फत एकीकृत सेवाको अल्पकालीन योजना बनाएर सकेसम्म काेभिड र ननकाेभिड उपचारलाई व्यवस्थापन गरेको छ। तर यो अप्ठ्यारो अवस्था तत्काल सहज हुने नदेखिएकोले भरतपुर अस्पतालसँग सहकार्य गरी सबैखाले सेवा प्रवाह गर्न र जनमानसलाई मेडिकल सिटीकाे आभास दिलाउन चितवनस्थित दुई मेडिकल कलेज र अन्य निजि अस्पतालहरुलाई अपिल गर्दछु।
भरतपुरमा ७५ वटा भेन्टिलेटर, १५० वटा आकस्मिक कक्ष (आइसीयू) र ३०० शैय्याकाे आइसाेलेसनकाे तयारी अपरिहार्य देखिएकोले यी ठूला-साना अस्पतालको सहकार्यमा मात्र सम्भव छ। चितवन मेडिकल कलेज (सिएमसी)मा छिट्टै पीसीआर परीक्षण सुरु हुनु खुसीको कुरा हाे। स्थानीय तहमा क्वारेन्टाइनसँगै आइसाेलेसन सेटअप पनि निर्माण गरी लक्षण नभएका संक्रमितलाई राख्न जरुरी देखिन्छ। चितवनमा संक्रमण बढेसँगै स्थानीय प्रसाशन र पालिकाबाट जारी निषेधाज्ञा अनुसाशित ढङ्गले पालना गर्न पनि अनुरोध गर्दछु।
अस्पताल र काेभिड ल्याबको सेवा चुस्तदुरुस्त राख्न स्वास्थ्य सामाग्रीलगायत जोखिम भत्ता समयमा उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गर्दछु। काेभिडविरुद्ध लडाइको मोर्चामा सिपाहीको नाताले हरेक असहजतामा आफू अग्रपंक्तिमै रहेर युद्धबिराम नहुन्जेल विश्राम नलिने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु।



























One Comment
Buddha Ratna Manandhar
Well said Hatts off you all real heros