साउन ३० । अष्ट्रेलियाको इंग्ल्यान्ड भ्रमण अर्को महिना हुने पक्का भएको छ।
इंग्ल्यान्डले अर्को महिना घरेलु मैदानमा अष्ट्रेलियासंग तीन टी–ट्वान्टी र तीन एक दिवसीय म्याच खेल्ने पक्का भएको हो।
दुई देशबीचको खेल जुलाईमा हुने तय थियो। तर कोरोनाको महामारीका कारण तालिका हेरफेर भएको हो।
टी–ट्वान्टी खेल साउथह्याम्टनमा सेप्टेम्बर ४, ६ र ८ तारिकमा हुनेछ।
यस्तै, म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा सेप्टेम्बर ११, १३ र १६ मा एकदिवसीय खेल हुनेछ।
त्यसअघि, इंग्ल्यान्डले अगष्ट २८ र २९ तथा सेप्टेम्बर १ मा पाकिस्तानसंग टी–ट्वान्टी खेल्दैछ।
इंग्ल्यान्डको एक दिवसीय टिमले गत वर्ष विश्वकप जितेको थियो।
यस्तै, साउथह्याम्टनमा भएको एकदिवसीय सिरिजमा आयरल्याण्डलाई २–१ ले पछि पार्दै इंग्ल्यान्डले पछिल्लो महिनाको अन्त्य गरेको थियो।
‘दुई देशबीचको प्रतिस्पर्धा निकै उच्च रहने गर्छ। यस गर्मीमा पुरुषको अन्तराष्ट्रिय सत्र समापन गर्न यो प्रतियोगिता राम्रो तरिका हुन सक्छ।’ इंग्ल्यान्ड र वेल्सका मुख्य कार्यकारी टाम हेरिसनले भने।
अष्ट्रेलियाको टिम पर्थबाट अगष्ट २३ मा निस्कनेछ।
अलराउण्डर ग्लेन म्यासवेललाई समावेश गर्दै अष्ट्रेलियाले २३ सदस्यीय टिमको घोषणा गरेको छ। एजेन्सी


























