काठमाडौं, साउन २८ । नेपालमा बुधबार थप ४८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो सँगै कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन्।
यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ९४८ थियो।
पछिल्लो २४ घण्टामा थप ६४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १६ हजार ७२८ पुगेको छ।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १६ हजार ६६४ थियो।
मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८३ पुगेको थियो। आज थप ८ जनाको मृत्यु पुष्टि भएसँगै मन्त्रालयका अनुसार हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ।


























