चितवन, साउन २८ । अहिले चितवन सहित देशका सबै प्रदेशमा केही स्थानमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। चितवनमा पछिल्लोपटक बुधबार बिहान ४ बजेदेखि वर्षा भइरहेको हो। यसअघि मंगलबार साँझ पनि वर्षा भएको थियो।
यस्तै देशका सबै प्रदेशका विभिन्न स्थानमा मध्यम वर्षा भइरहेको छ। भारी वर्षा भने अहिले कतै नभएको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले बताइन्। ‘यो क्रम अझै केही घण्टा जारी रहने सम्भावना छ,’ उनले भनिन्।
मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो पनि देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
‘प्रदेश नं ५, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा साथै प्रदेश नं १, प्रदेश नं २ र कर्णाली प्रदेशका १/२ स्थानमा भारी वर्षाको समेत सम्भावना छ,’ बुलेटिनमा भनिएको छ।
यस्तै राति पनि धेरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
बागमती प्रदेश, प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।


























