काठमाडौं, साउन २५ । पार्टीलाई विधि र पद्धतिमा चलाउनुपर्ने भन्दै नेकपाका ७० भन्दा बढी सांसदहरूले हस्ताक्षर संकलन गरेका छन्। उनीहरूले आइतबार दिउँसो २ बजे सिंहदरबारमा पत्रकार सम्मेलन गरी पार्टी एकताको पक्षमा उभिन र पार्टीलाई विधि र पद्धतिमा चलाउन दबाब दिने भएका छन्।
‘पार्टीमा कुनै विधि र पद्धति भएन। व्यक्तिले जे जस्तो मन लाग्यो त्यही गर्न थालियो,’ सांसद सुरेशकुमार राईले भने, ‘पार्टीलाई विधानसंवत रुपमा चलाउन नेतृत्वलाई दबाब दिन हस्ताक्षर संकलन गरेका हौ।’ हस्ताक्षर संकलन कसैका विरुद्ध नभई पार्टी एकतालाई कायम राख्न गरिएको पहलकदमी भएको राईले बताए।
यसरी हस्ताक्षर गर्नेहरूमा अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्ष गरी तीनै समूहका छन्। हस्ताक्षर संकलन गर्नेमा सांसद विशाल भट्टराई, सुरेशकुमार राई, यज्ञराज सुनुवार, कृष्ण दाहाल, मेटमणि चौधरी, हिराचन्द्र केसी, जयकुमार राईलगायतका सांसद छन्।


























