काठमाडौं, साउन २४ । जनता समाजवादी पार्टी (जसपा) को कार्यकारी समितिमा पदाधिकारीको कार्य विभाजनलाई लिएर सकस हुन थालेको छ। गत बुधबारदेखि सुरु भएको ५३ सदस्यीयमध्ये ५१ जनाको कार्यकारी समिति बैठकमा कार्य विभाजनलाई लिएर नेताहरुबीच विवाद भएको हो।
जसपामा अहिले अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव छन् भने वरिष्ठ नेतामा राजेन्द्र महतो, बाबुराम भट्टराई र अशोक राईलाई मात्रै राखिएको छ। अरु उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षलगायत पदाधिकारीको चयन हुन बाँकी छ।
यसअघि राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका सदस्यहरुले उपाध्यक्षमा दाबी गरेका छन्। जसमा अनिल झा, शरतसिंह भण्डारी र राजकिशोर यादवले आफूले सम्मानजनक स्थान पाउनुपर्ने दाबी गरेका छन्। कार्यविभाजन कसरी मिलाउने भन्ने विषयमा तत्कालीन राजपा र समाजवादी पार्टी पक्षका शीर्ष नेतृत्वलाई गाह्रो भएको हो।
एकतापछिको पहिलो बैठकमा समसामायिक राजनीतिक प्रस्ताव, पार्टीको आर्थिक व्यवस्थापन, समायोजन र आन्तरिक आचारसंहितासम्बन्धी प्रस्तावका विषयमा छलफल भएको नेता केशव झाले बताए। तुलसीलाल स्मृति भवनमा जारी कार्यकारी समितिको बैठक शनिबारै सक्ने तयारी छ।


























