काठमाडौं, साउन २३ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण अनिश्चित समयलाई स्थगित गरेको छ।
तत्काल कुनै महत्वपूर्ण प्रतियोगिता नभएको अवस्था र कोरोनाको संक्रमण बढेसंगै क्यानले प्रशिक्षणलाई तत्कालका लागि स्थगित गरिएको जानकारी दिएको हो।
क्यानले राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण भदौ १ गतेबाट सुरु गर्ने तयारी गरेको थियो। त्रिवि मैदान कीर्तिपुरमा क्वारेन्टिन बनाउनेदेखि खेलाडीको पीसीआर जाँचसम्मको तयारी क्यानले अघि बढाएको थियो।
तर कोरोना संक्रमितको संख्या बढ्ने देखिएसंगै क्यानले खेलाडीको प्रशिक्षण तत्काललाई स्थगित गरेको हो।
‘प्रशिक्षण तत्काललाई स्थगित भएको छ। कहिलेसम्म भन्ने बिषय टुङ्गोपनि छैन।’ क्यानका सचिव अशोकनाथ प्याकुरेलले भने।
‘पहिलो कुरा कोरोनाको परिस्थिती र अर्को मुख्य कारण भनेको साढे ५ महिना कुनै अन्तराष्ट्रिय खेल नभएको हुदाँ हतार गरेर गर्नुपर्ने स्थितीपनि छैन।’ उनले भने।
सचिव प्याकुरेलले क्रिकेटको प्रशिक्षण सुरु गर्न कम्तिमा डेढ, दुई महिना लाग्ने बताए।
‘बर्खाको समयपनि छ। कोरोनाले एक परिस्थिती बनाउँछ। त्यसपछि प्रशिक्षणमा फर्कने सोच्न सकिन्छ।’ उनले भने।
चैतमा कोरोनाको कहर सुरु भएसंगै घरेलु क्रिकेट ठप्प अवस्थामा छ। चैतमा खेलाडीहरु घरेलु क्रिकेटको सबैभन्दा ठुलो प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (ईपीएल) को तयारीमा रहेका थिए।
तर कोरोनाले मुलुक लकडाउनमा गएपछि सबै घरेलु प्रतियोगिता सहित अन्तराष्ट्रिय खेल प्रभावित बनेका छन्।
क्यानले भदौ १ गतेबाट खेलाडीलाई मैदान फर्काउने योजना अनुसार काम अघि समेत बढाएको थियो। तर तत्काल कुनै प्रतियोगिता नभएको अवस्था र कोरोनाको जोखिमलाई देखेर क्यान प्रशिक्षण स्थगित गर्ने अवस्थामा पुगेको हो।


























