काठमाडौं, साउन २३ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले नेकपाका प्रवक्ता नाराणकाजी श्रेष्ठमाथि आक्रोशपूर्ण अभिव्यक्ति दिएका छन्।
पछिल्लो समय प्रवक्ता श्रेष्ठले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई मिलाउन भूमिका खेलेको चर्चा चलिरहेका बेला सल्लाहकार रिमालले विधि र पद्दतिका नाममा नेताहरुलाई गुटबन्दीको आगोमा पोल्ने उत्तोलक नबन्न श्रेष्ठलाई आग्रह गरेका छन्।
शुक्रबार सामाजिक सञ्जाल ट्विटरमा प्रवक्ता श्रेष्ठलाई मेन्सन गर्दै सल्लाहकार रिमालले चेतावनीयुक्त ट्विट लेखेका हुन्। नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका रिमालले सचिवालय सदस्य एवं प्रवक्ता श्रेष्ठलाई पदको लाज जोगाउनसमेत आग्रह गरेका छन्।
‘नारायणकाजी श्रेष्ठजी ! कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस। ‘विधि र पद्दति’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस्१’, ट्विटरमा रिमालले लेखेका छन्।
उनले मुलुक संवेदनशील मोडमा रहेको बताउँदै पार्टी एकताविरूद्धका कुनै पनि गतिविधि कतैबाट हुन नहुने बताएका छन्।
पार्टीभित्र देखिएको विवाद उत्कर्षमा पुग्दै पछिल्लो समय दुई अध्यक्षबीचको संवादसमते नहुने अवस्थामा पुगेको छ।
प्रधानमन्त्री ओली बैठकबाट भाग्ने र सहमतिमा पनि नआउने देखेपछि प्रचण्ड–नेपाल समूहले छुट्टै गतिविधिसमेत सुरु गरेका छन्।
पछिल्लो समय प्रचण्ड–नेपाल समूहले नेकपा बिट हेर्ने पत्रकारहरुसँग अन्तरक्रिया गर्दै पार्टीभित्रको लडाइँ पद र प्रतिष्ठाको नभइ ‘विधि र पद्दति’को भएको बताएपछि ओली समूह आक्राशित बनेको हो।


























