चितवन । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले चितवनको दासढुङ्गा–नारायणी–गाँजीपुर परियोजना पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।बुधबार गाँजीपुर क्षेत्रको स्थलगत अवलोकनका क्रममा मन्त्री फुयाँलले केन्द्र, प्रदेश र स्थानीय सरकारको समन्वयमा परियोजनाको काम अघि बढाइने बताएका हुन्। तीन तहका सरकारले कार्ययोजना बनाएर काम गर्नुपर्ने भन्दै प्रदेश सरकारका तर्फबाट आवश्यक बजेट विनियोजन गरिने बताए।
प्रदेशका १३ वटै जिल्लामा प्रदेश सरकारअन्तर्गत विकास निर्माणका काम धमाधम सञ्चालन भइरहेको मन्त्री फुयाँलले बताए। मन्त्रालयले कोभिड–१९ का कारण युद्धस्तरमा काम गर्न नपाए पनि सामाजिक दूरी कायम गर्दै कामलाई निरन्तरता दिइएको उनले बताए। मन्त्री फुयाँलले बुधाबार नै पूर्वी चितवनको चिप्लेटी सिँचाइ आयोजना, भरतपुरको केरुङ्गा घोल र गणेशधामको समेत स्थलगत अवलोकन गरेका थिए। – रासस



























