साउन २१ । घरेलु टिम इंग्ल्यान्ड आयरल्याण्डविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रियमा पराजित भएको छ।
साउथह्याम्पटनमा मंगलबार राति भएको खेलमा आयरल्याण्डले इंग्ल्यान्डलाई ७ विकेटले हराएको हो।
एजेस बाउलमा इंग्ल्यान्डले दितेको ३ सय २९ रनको लक्ष्य आयरल्याण्डले ४९ ओभर ५ बलमा ३ विकेट गुमाएर पुरा गर्यो।
आयरल्याण्डको जितमा पाउल स्ट्रर्लिङले १ सय ४२ रनको शतकीय इनिङ्स खेल्दा कप्तान एन्डी बलब्रिनेले १ सय १३ रनको शतकीय इनिङ्स खेले।
ह्यारी टेक्टर २९ तथा केभिन ओ ब्रायन २१ रनमा अविजित रहे। इंग्ल्यान्डका डेभिड विलि र आदील राशिदले १/१ विकेट लिए।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले अलआउट हुँदै ३ सय २८ रन जोडेको थियो।
इंग्ल्यान्डका लागि कप्तान इयान मोर्गनले १ सय ६ रनको शतकीय इनिङ्स खेले। टम बानटनले ५८ रन जोड्दा डेभिड विलिले ५१ रनको अर्धशतकीय इनिङ्स खेले।
आयरल्याण्डका क्रेग योङले ३ विकेट लिए। यस्तै जोस लिटल र कुर्टिसले २/२ विकेट लिए।
अन्तिम खेलमा पराजित भएपछि इंग्ल्यान्ड सिरिज क्लिन स्विप गर्न असफल भएको छ।
इंग्ल्यान्डले सिरिज भने २-१ ले जित्न सफल भएको छ।
पहिलो खेलमा इंग्ल्यान्डले आयरल्याण्डलाई ६ विकेटले हराएको थियो। यस्तै दोस्रो खेलमा ४ विकेटको जित निकाल्दै जिरिज २-० ले आफ्नो बनाएको थियो।


























