डोटी, साउन १९ । डोटीको सेती नदीमा नुहाउन गएका बेला बेपत्ता भएका डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मीमध्ये एकजनाको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख जनकराज पाण्डेले दिएको जानकारी अनुसार डडेल्धुराको परशुराम नगरपालिका घर भएका स्वास्थ्य सहायक हरिश जोशीको शव डोटीको केआइसिंह गाउँपालिका–५ को बुवातडा भन्ने स्थानमा फेला परेको हो। नदीले बगाएर लैजाँदै गरेको अवस्थामा उाको शव फेला परेको प्रहरी प्रमुख पाण्डेले बताए। उनले भने, “नदीले बगाउँदै गरेको अवस्थामा एकजनाको शव भेटिएको छ, शव परीक्षणका लागि जिल्ला पुर्याइएको छ।”
शनिबार डोटीस्थित शैलश्वरी मन्दिर दर्शन गरी फर्कने क्रममा शिखर नगरपालिका–१० बानीडुग्रीसैनस्थित सेती नदीमा बझाङ घर भई सो अस्पतालमा कार्यरत स्वास्थ्य सहायक (हेल्थ असिटेण्ट) विनयबहादुर सिंह र जोशी नदीमा बेपत्ता भएका थिए। रासस


























