काठमाडौं, साउन १९ । कमेडी च्याम्पियन सिजन–२ को अडिसन यही भदौ १५ गतेबाट सुरु हुने भएको छ । दोस्रो प्रोमो सार्वजनिक गर्दै आयोजकले अडिसन मिति घोषणा गरेको हो।
पहिलो प्रोमो सार्वजनिक भएको केही दिनमा आयोजकले दोस्रो प्रोमो सार्वजनिक गरेको हो। पहिलो प्रोमोमा सामाजिक विषय डार्क कमेडीका रुपमा उठान गरेको आयोजकले दोस्रो प्रोमोमा सिजन १ का प्रतियोगीको कमेडीको पञ्च लाइनको किल्प्स काटेर राखेको छ।
प्रोमोमा अडिसन मिति सार्वजनिक गरे पनि अडिसन कसरी दिनबारे विस्तृत जानकारी भने दिइएको छैन। निर्देशक विशाल भण्डारीले अन्य प्रोमामा थप जानकारी दिँदै जाने बताए। डिजिटल अडिसन लिइने छ। तर त्यसका सर्तहरु पछि सार्वजनिक गरिने उनी बताउँछन्।
निर्णायक सिजन–१ कै सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा हुने छन्।
“यो पटक मूल्यांकन फम्र्याट केही परिवर्तन हुनेछ। सेट परिमार्जित र भब्य हुनेछ,” निर्देशक भण्डारी भन्छन्, “गत वर्षको भन्दा सेटमा मात्रै १५ देखि २० लाख बढी खर्च हुनेछ।”
‘कन्टेन्ट’मा पहिलो सिजनकोभन्दा चार गुणा बढी जनशक्ति थप गरिएको उनले जानकारी दिए।
नेपालको पहिलो स्ट्यान्ड अप कमेडी रियालिटी शो कमेडी च्याम्पियन सिजन–१ मा हिमेश पन्त विजयी भएका थिए भने क्रमशः सुमन कोइराला र खड्गबहादुर पुन दोस्रो र तेस्रो भएका थिए।
आयोजकले केही दिनमा पत्रकार सम्मेलन गरेर सिजन–१ का विजेता हिमेश पन्तलाई सबै पुरस्कार प्रदान गर्दैछ। ५० प्रतिशत नगद पुरस्कार प्रदान गरेको आयोजकले बाँकी ५० प्रतिशत नगद र गाडीको चावी हस्तान्तरण गर्नेछ।


























