काठमाडौं, साउन १९ । देशभर मनसुनी वायुको प्रभावले मुलुकका विभिन्न भू-भागमा भारी वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सिन्धुपाल्चोकमा राति ६/७ घण्टासम्म ‘अति भारी’ वर्षा भएको छ।
धाप, गुमथाङ, बाह्रबीसे र आसपास अतिभारी वर्षा भएकाले मेलम्ची, ईन्द्रावती, बलेफी तथा केही साना सहायक नदीमा आकस्मिक बाढी आएकाले सतर्क रहन एसएमएस पठाइएको विभागको बाढी सूचना केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार पाँचथर, ईलाम, ओखलढुङ्गा, दोलखा, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, गोरखा, नवलपरासी, रूपन्देही, कपिलवस्तु र आसपास केही स्थानमा पनि भारी वर्षा मापन भएको छ। भारी वर्षा भएपछि ती क्षेत्रका तटीय क्षेत्रमा सतर्कताका लागि आह्वान गरिएको छ।
विभागका अनुसार अहिले पनि देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, प्रदेश ५ र अन्य प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ।
आज दिउँसो पनि देशभर सामान्य बदली रही केही स्थानहरुमा मध्यान्हपछि मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ। राति प्रदेश १ र बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
विभागले बुधबारसम्मको पूर्वानुमान गर्दै जारी गरेको बुलेटिनमा मंगलबार र बुधबार पनि देशका विभिन्न स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ।
‘ देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,’ विभागले २४ घण्टा लागि जारी गरेको चेतावनीमा भनिएको छ,’प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षासमेत हुनसक्ने देखिएकोले उक्त स्थानहरुमा आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’


























