साउन १८ । घरेलु टिम इंग्ल्यान्डले आयरल्याण्डविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज एक खेल अगाबै जितेको छ।
साउथह्याम्पटनमा शनिबार राति भएको दोस्रो खेलमा ४ विकेटको जित निकाल्दै इंग्ल्यान्डले तीन खेलको सिरिज एक खेल अगाबै २-० ले आफ्नो बनाएको हो।
यस अघि पहिलो खेलमा इंग्ल्यान्डले आयरल्याण्डलाई ६ विकेटले हराएको थियो। अब दुई टोलीबीचको तेस्रो तथा अन्तिम एकदिवसीय मंगलबार हुनेछ।
एजेस बाउलमा आयरल्याण्डले दिएको २ सय १३ रनको लक्ष्य इंग्ल्यान्डले ३२ ओभर ३ बलमा ६ विकेट गुमाएर पुरा गर्यो।
इंग्ल्यान्डको जितमा जोनी बेयरट्रोले ८२ रनको अर्धशतकीय इनिङ्स खेले। डेभिड विलिले अविजित ४७ रन जोड्दा साम विलिङ्स अविजित ४६ रन बनाए ।
आयरल्याण्डका जोस लिटलले ३ तथा कुर्टिसले २ विकेट लिए।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर २ सय १२ रन बनाएको थियो।
आयरल्याण्डका कुर्टिस काम्फेरले ६८ रनको अर्धशतकीय इनिङ्स खेले। सामी सिंहले २५ तथा एन्डी म्याकब्रिनेले २४ रन बनाए।
इंग्ल्यान्डका आदील रशिदले ३ विकेट लिए। सकिब महमुद र डेभिड विलिले २/२ विकेट लिए। एजेन्सी


























