चितवन, साउन १७ । पूर्वी चितवनको कालिका नगरपालिका वडा नम्बर ८ मा होम क्वारेन्टिनमा बसेका एक वृद्धको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार साउन ८ गते भारतबाट आएर होम क्वारेन्टिनमा रहेका ६९ वर्षिय वृद्धको शुक्रबार मृत्यु भएको हो। “उनी कसैलाई थाहा नदिई होम क्वारेन्टिनमा बसेका रहेछन्,” स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले भने, “केही दिन पछिमात्र नगरपालिकामा जानकारी आयो।”
उनको शुक्रबार दिउँसो घरमानै मृत्यु भएको थियो। मृत्यु पश्चात उनको स्वाब परीक्षणका लागि भरतपुर कोभिड १९ प्रयोगशालामा पठाइएको तिवारीले बताए। उनका अनुसार मृत्यु भएका वृद्धको शव हाल भरतपुर अस्पतालमा राखिएको छ।
उनी घर आएको विषयमा कसैलाई पनि जानकारी नगराइएको र आएको तीन दिन पछि मात्र समुदायले जानकारी पाएका थिए। त्यस पछि होम क्वारेन्टिनमा राखिएको थियो। कोरोना सम्बन्धि कुनै लक्षण नदेखिए पनि उनको स्वाब परीक्षणको नतिजा आएपछि मात्रै दाहा संस्कारको काम अगाडि बढाइने तिवारीले जानकारी दिए।


























