साउन १७ । बेलायतमा जारी लकडाउन कम्तीमा अरू दुई साता लम्बिने भएको छ।
कोरोनाभाइरस सङ्क्रमण बढेको पाइएपछि अगस्ट १ तारिख अर्थात् आजदेखि खोल्ने भनिएका क्षेत्रहरू कम्तीमा दुई हप्तापछि सारिएको छ।
प्रधानमन्त्री बोरिस जोनसनले अहिले ‘साइकलमा ब्रेक लगाउनुपर्ने बेला आएको’ बताएका छन् भने क्यासिनो र बावलिङ खेलस्थलहरू बन्द नै रहने उल्लेख गरिएको छ।
इङ्गल्यान्डका प्रमुख मेडिकल अफिशर प्राध्यापक क्रिश ह्वीटीले डाउनिङ स्ट्रीटमा प्रधानमन्त्री जोनसनलाई सबै क्षेत्र खुला गरे संक्रमण अझ भयावह अवस्थामा पुग्ने चेतावनी दिएको बीबीसीले जनाएको छ।
राष्ट्रिय तथ्याङ्क विभाग (ओएनस) ले शुक्रवार जारी गरेको तथ्याङ्क अनुसार बेलायतमा एक हप्ताअघि प्रतिदिन ३ हजार २०० जनामा सङ्क्रमण पुष्टि हुने गरेकोमा यो हप्ता प्रतिदिन करिब एक हजारले बढेर ४ हजार २०० जति पुगेको छ।
बेलायतमा अहिलेसम्म कोरोनाभाइरसले ४६ हजार ११९ जनाको मृत्यु भइसकेको छ भने ३ लाख १८१ जना संक्रमित भएका छन् ।


























