साउन १७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अब चिनियाँ मोबाइल एप टिकटकमाथि प्रतिबन्ध लगाउने बताएका छन्। उनले आज नै यो प्रतिबन्ध लगाउने नियममाथि आफूले हस्ताक्षर गर्न लागेको पत्रकारहरुलाई बताएका छन्।
ट्रम्पले फ्लोरिडाको यात्राबाट फर्किएपछि पत्रकारलाई भनेका छन्, ‘जहाँसम्म टिकटकको प्रसंग हो, हामी यसलाई प्रतिबन्ध लगाउँदै छौँ।’
यसका लागि आफूले आपत्कालीन आर्थिक अधिकार प्रयोग गर्न लागेको पनि उनले बताएका छन्।
‘मसँग यो अधिकार छ,’ उनले भने, ‘म यसमाथि शनिबार हस्ताक्षर गर्न गइरहेको छु।’
अमेरिकी यो कदम टिकटक निर्माता कम्पनी बाइटडान्सका लागि एउटा ठूलो झड्का हुनसक्ने अनुमान गरिएको छ। अमेरिकी सुरक्षा अधिकारीहरुले यो एपका कारण व्यक्तिगत डाटा चोरी भएको हुनसक्ने भन्दै यसअघि बारम्बार चिन्ता व्यक्त गरेका थिए।
टिकटकलाई यसअघि भारत सरकारले पनि प्रतिबन्ध लगाइसकेको छ।
बाइटडान्सले सन् २०१७ मा टिकटक लन्च गरेको थियो। त्यसपछि उसले म्युजिकल्ली नामको एक भिडियो एप पनि खरिद गर्यो जुन अमेरिका र युरोपमा युवाहरुबीच निकै लोकप्रिय थियो। एजेन्सी


























