महोत्तरी, साउन १७ । समुदायस्तरमा नै कारोना महामारी फैलिन थालेपछि महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा शुक्रबार रातिदेखि पाँच दिनको लागि निषेधाज्ञा जारी गरिएको छ।
जिल्ला दैवी प्रकोप समितिले एक सूचना जारी गर्दै गएराति ११ बजेदेखि लागू हुने गरी पाँच दिनका लागि जलेश्वरमा निषेधाज्ञा जारी गरेको हो।
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालद्वारा हस्ताक्षरित सो सूचनामा जलेश्वरको पूर्वमा भार्गवसर मन्दिर, पश्चिममा रामनन्दन विशेश्वर महेन्द्र क्याम्पस, उत्तरमा रणभीम गण र दक्षिणमा रातोपुल यति चारकिलाको क्षेत्रमा पाँचदिनसम्मको लागि निषेधाज्ञा जारी गरिएको हो।
त्यसैगरी जिल्लाको महोत्तरी गाउँपालिका वडा नं ३ र वडा नं ५ मा पनि पाँच दिनको लागि निषेधाज्ञा जारी गरिएको सो सूचनामा उल्लेख रहेको छ।
एक साताअघि जिल्लाको महोत्तरी गाउँपालिका–३ बस्ने एक ६४ वर्षीय पुरुषको कोरोनाको कारण मृत्यु भएपछि उनको शव व्यवस्थापनमा खटिएका तथा आइसोलेसन व्यवस्थापनमा खटिएका १० जना नेपाली सेनामा कोरोना पुष्टि भएको थियो।
त्यस्तै जलेश्वरका एक सामुदायिक विद्यालयका प्रधानाध्यापक, जलेश्वर नगरपालिकाका कर्मचारी र मृतकका परिवारजनमा पनि बिहीबार कोरोनाको सङ्क्रमण देखिएपछि जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको हो।


























