विराटनगर, साउन १५ । सुनसरीको इटहरी उपमहानगरपालिकामा अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय भएको छ।
योजना शाखाका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कोरोना रोकथाम तथा समन्वय जिल्ला समितिको बैठकले अत्यावश्यक सेवा मात्र सञ्चालन गर्नुपर्ने निर्णय गरेको हो।
सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोख्रेलको उपस्थितिमा बसेको बैठकले बाहिरबाट आउने विद्युतीय रिक्सा सञ्चालनमा रोक लगाउने र उच्च जोखिमममा रहेका वडामा पीसीआर परीक्षण गर्ने निर्णय गरेको छ।
बजार बिहान ९ देखि २ बजेसम्म मात्र खोल्न पाइने र मास्क अनिवार्य लगाउनैपर्ने निर्णय भएको छ। व्यापारीले स्यानिटाइजरको व्यवस्था अनिवार्य रूपमा गर्ने, बाहिरबाट ल्याइने तरकारी तत्काल रोक्ने निर्णय भएको छ। संक्रमित कर्मचारीको सम्पर्कमा आएकाहरूको पनि स्वाब संकलन गरी परीक्षण गरिने निर्णय भएको उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन्।


























