मोरङ, साउन १५ । कोरोना भाइरसको संक्रमणका कारण विराटनगरस्थित कोशी अस्पतालले आकश्मिक र फिवर क्लिनिक बाहेकका सबै सेवा बन्द गरेको छ।
अस्पतालका सूचना अधिकारी विष्णुबहादुर बुढाथोकीका अनुसार अर्को सूचना जारी नहुन्जेलसम्मका लागि ओपीडी सेवा पूर्ण रुपमा बन्द गरिएको जानकारी दिए।
अस्पतालमा कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि अस्पतालले सुरक्षित रहनका लागि सेवा बन्द गरिएको हो। कम्तीमा पाँच सय कर्मचारी रहेको अस्पतालका चारजना कर्मचारीमा कोभिड–१९ पुष्टि भइसकेको छ।
सूचना अधिकारी बुढाथोकीका अनुसार एक चिकित्सक, एक नर्स, एक अनमी र पिपिए गर्ने अहेबमा संक्रमण पुष्टि भएको हो। हाल अस्पतालले दैनिक २० देखि ५० जनाको दरमा कर्मचारीहरुको स्वाब संकलन गरिरहेको छ।
त्यसैगरि, शंका लागेका कर्मचारीलाई होम क्वारेन्टिन र महानगरपालिकाले स्थापना गरेको क्वारेन्टिनमा राखिएको बुढाथोकीले जानकारी दिए।
अर्कोतर्फ अस्पतालका माइक्रोबायोलोजिष्ट प्रनव यादवका अनुसार अस्पतालमा केहीदिन यता स्वाब नमूना परीक्षणका लागि आउनेको संख्या बढ्दै गएको छ।
अस्पतालमा एकपटकमा ७२ वटा रिपोर्ट दिने क्षमताको पीसीआर मेशिन भएपनि ल्याबमा दैनिक कम्तीमा चार सय जना स्वाब परीक्षणका लागि पुग्ने गरेको उनको भनाई छ। अस्पतालमा विराटनगर महानगरपालिकाबाट नमूना संकलन हुने र सर्वसाधारण आफै पनि संका लागेर नमूना परीक्षणका लागि पुग्ने गरेका छन्।


























