काठमाडौं, साउन १५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले संसारभरका दक्षिणपन्थी र परम्परावादी शक्तिहरुको सञ्जाल र शक्ति बढाउनुपर्ने बताएका छन्।
उनले तथाकथित् कम्युनिष्ट र समाजवादीहरुबाट उत्पन्न खतरा अझै कायम रहेको भन्दै दक्षिणपन्थी र परम्परावादी शक्तिहरुबीचको सञ्जाल र सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने जिकिर गरेका हुन्।
थापाले अन्तर्राष्ट्रिय प्रजातान्त्रिक युनियनको कार्यकारी बैठकमा दिएको मन्तव्यमा सो कुरा व्यक्त गरेका हुन्।
‘मेरो विचारमा मध्य–दक्षिणपन्थीहरुको हाम्रो विश्वव्यापी गठबन्धनसामु विशाल संभावना छ,’ उनले भनेका छन्, ‘विखण्डन र छिटोछिटो परिवर्तन भइरहेको अहिलेको विश्वमा हामीसामु आफ्नो संगठनलाई अझ विस्तार गर्ने, संसारभरका अझै धेरै परम्परावादीहरुबीच सञ्जालसँग सहकार्य गर्नुपर्छ,’ थापाले भनेका छन्।
सो वक्तव्यमा उनले विश्वभर तथाकथित कम्युनिष्ट र समाजवादीहरु आमरुपमा ओरालो लागे पनि त्यो धारबाट उत्पन्न खतरा भने कायमै रहेको जिकिर गरेका छन्।
‘वास्तवमा, यो नयाँ अर्थ र आकारमा प्रजातन्त्र, स्वतन्त्रता र मानवअधिकारमाथि खतराको रुपमा उदाएको छ,’ उनले भनेका छन्, ‘त्यसकारण विचार मिल्ने राजनीतिक दलहरुको एकता र गठबन्धन अझै सशक्त पार्नु आवश्यक छ।’


























