काठमाडौं, साउन १४ । सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न बिहीबार वेस्ट इन्डिजतर्फ प्रस्थान गर्ने भएका छन्।
कोरोना भाइरसका कारण हवाइ सेवा बन्द हुँदा सन्दीपले सिपिएल खेल्ने अन्योल रहँदै आएको थियो। तर लामो प्रक्रियापछि सन्दीपले कोरियन चार्टर फ्लाइटबाट सिपिएल खेल्न जाने भएका हुन्। उनी अमेरिका हुँदै वेस्ट इन्डिज अगस्ट १ तारिखमा पुग्ने उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिएका छन्।
सरकारले गएको हप्ता लकडाउन अन्त्य भएको घोषणा गर्दै अन्तर्राष्ट्रिय हवाई उडान आगामी भदौ १ गतेदेखि मात्र खोल्ने निर्णय गरेको थियो। योसँगै सिपिएल खेल्न जाने तयारीमा रहेका सन्दीप समस्यामा परेका थिए। वेस्ट इन्डिज गएपछि सन्दीप १४ दिन क्वारेन्टाइनमा बस्ने छन्। त्यसतर्फ प्रस्थान गर्नका लागि सन्दीपले पिसीआर परिक्षण गरिसकेका छन्।
सन्दीपले तेस्रो पटक सिपिएल खेल्दै छन्। उनी ‘जमैका तलावाज’ क्लबमा झण्डै एक करोड ८ लाख नेपाली रुपैयाँमा अनुबन्धित भएका थिए।
सिपिएल अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म आयोजना हुँदैछ। प्रतियोगितामा जमैका तलावाजसँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुयना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्स गरी ६ टिम छन्। सिपिएलको फाइनल १० सेप्टेम्बरमा ब्रायन लारा क्रिकेट एकेडेमीमा हुनेछ।


























