चितवन साउन ८ । चितवनमा पनि सार्वजनिक सवारीसाधन सञ्चालनमा आएका छन्। कोरोना महामारीले चार महिनादेखिको लकडाउनले ठप्प भएको सार्वजनिक सवारीसाधन विहिवारदेखि सञ्चालनमा आएको हो।
पहिलो दिन बिहानैदेखि बस, मिनिबस, माइक्रो, म्याजिक, टेम्पोलगायतका सवारीसाधन सञ्चालनमा आए पनि तीनमा यात्रु कम मात्रै देखिएको छ। नारायणगढ, टाँडी, पर्सा, भण्डारा लगाएतका क्षेत्रमा मिनिबस चलिरहेकाछन् भने भरतपुरका विभिन्न क्षेत्रहरुमा म्याजिक, अटो, ईरिक्सा चलिरहेकाछन् । त्यस्तै भरतपुर देखि माडी सम्म बसहरु चलिरहेकाछन् । सरकारले साउनभर एउटा जिल्लाभित्र वा एउटा जिल्लाबाट अर्को जिल्लामा सवारसाधन चलाउन पाउने निर्णय गरेको छ।
यात्रुलाई बसमा चढाउनु अगाडि सेनिटाइजर र थर्मल गनले ज्वरो जाँच गर्ने, बसभित्र भौतिक दूरी कायम गरिने, सहचालकलाई पिपिई लगाएर मात्र काममा लगाउने, यात्रुलाई मास्कको अनिवार्य व्यवस्थालगायतका सुरक्षा प्रवन्ध मिलाएर बस सञ्चालन गरेपनि लामो समयपछि कोरोना त्रासकाबीच गाडी सञ्चालन भएकाले कोभिड–१९ को संक्रमण हुनसक्ने डरले गाडीमा यात्रुहरुको संख्या भने न्यून रहेको छ।

म्याजिकमा अहिले ३ देखि ४ जना यात्रु चढाउने गरेको भरतपुरबाट गीतानगर सम्म चल्ने म्याजिकका चालक गणेश विश्वकर्माले बताए। उनले भने यात्रुले रु २० तिर्दै आएको भाडा रु ३५ र रु ३५ तिर्दै आएको भाडा रु ४५ लिएको बताए। यात्रुहरु म्याजिकमा चढ्दा आफुले अनिवार्य माक्स प्रयोग गर्न भनिएको बताए।
पछिल्लो केही दिनयता कोरोना संक्रमितको संख्या केही घटेपनि कोभिड–१९ को जोखिम भने कायमै रहेको छ। त्यसैले सार्वजनिक सवारी सञ्चालन गर्दा विशेष सावधानी अपनाउनु जरुरी छ।


























