साउन ७ । इंग्लिस प्रिमियर लिग फुटबलमा (आज) बुधबार दुई ठुला क्लब लिभरपुल र चेल्सीबीच प्रतिस्पर्धा हुँदैछ।
च्याम्पियन बनिसकेको लिभरपुलले चेल्सीसँग घरेलु मैदानमा खेल्नेछ। दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ।
लिभरपुल घरेलु मैदानमा चेल्सीलाई हराउँदै उपाधि ट्रफी उचाल्न चाहन्छ। लिभरपुलले ३० वर्षपछि लिगको उपाधि जितेको हो।
यस अघि नै च्याम्पियन बनिसकेको लिभरपुलले चेल्सीसँगको खेलपछि घरेलु मैदानमा उपाधि ट्रफी प्राप्त गर्नेछ।
घरेलु मैदानमा लिभरपुल सहज जितसँगै शीर्ष स्थानको अग्रता समेत थप फराकिलो बनाउन चाहन्छ।
लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा १५ अंकले अघि रहेको छ। लिभरपुलको ९३ अंक रहदा एक खेल बढी खेलेको सिटीको ७८ अंक रहेको छ।
चेल्सी ६३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। चेल्सी घरेलु टोलीलाई हराएर शीर्ष तीनको पकड बलियो बनाउन चाहन्छ।
चेल्सीविरुद्धको खेलमा लिभरपुलका मिडफिल्डर जेम्स मिल्नरले टिममा पुनरागमन गर्ने बताईएको छ। चोटका कारण उनले अघिल्ला दुई खेल गुमाएका थिए।
तर, जोइ माटिप र कप्तान जोर्डन हेन्डरसन टिम बाहिर रहनेछन्।
लिभरपुलविरुद्ध चेल्सीका मिडफिल्डर एनुगालो कान्टे टिम बाहिर हुनेछन्।
प्रिमियर लिगको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले वेष्ट ह्यामसँग खेल्नेछ।
घरेलु मैदानमा युनाइटेड जित निकाल्दै शीर्ष तीनको दाबेदार कायम राख्न चाहन्छ।
पाँचौं स्थानको युनाइटेडले ६२ अंक जोडेको छ। वेष्ट ह्यामलाई हराएमा युनाइटेड केहि घण्टाका लागि भएपनि तेस्रो स्थानमा उक्लनेछ।
यदी चेल्सी लिभरपुलसँग पराजित भएको खण्डमा भने युनाइटेड तेस्रो स्थानमा कायम रहनेछ। एजेन्सी


























